प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यावदले अत्यन्तै संकट र संवेदनशील अवस्थामा रहेको निर्वाचन आयोगका बारेमा अर्नगल प्रचारबाजी नगर्न सबैलाई आग्रह गरेका छन्।
प्रदेशसभा र प्रतिनिधिसभाका आगामी मंसिर १० र २१ गते हुन लागेको निर्वाचन स्वतन्त्र, निष्पक्ष सम्पन्न गराउने सवालमा आयोग सचेत रहेको भन्दै उनले निर्वाचनलाई अनिश्चिततातर्फ धकेल्ने किसिमका प्रचारबाजी नगर्न आग्रह गरेका हुन्।
निर्वाचन सुरक्षा सम्बन्धी सुरक्षा निकायका पदाधिकारीसँग शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यावदले निर्वाचन सम्बन्धमा देखिएको अनिश्चिततालाई निश्चिततामा बदल्ने अभियानमा आयोग कटिबद्ध रहेको बताए।
व्यवस्थापकीय र प्राविधिक दृष्टिले ज्यादै जटिल परिस्थितिमा रहँदा रहँदै पनि आयोगले मुलुकको आवश्यकता राजनीतिक दल र नागरिकको चाहना अनुसार निर्वाचन गराउने अभियानमा जुटेको भन्दै उनले त्यस कार्यमा राष्ट्रिय सहयोगको आवश्यकता रहेको उल्लेख गरे। मतपत्र छपाई लगायत कारणले निर्वाचनमा देखिएको अन्यौलता निर्वाचन आयोगको आफ्नै व्यवस्थापकीय कमजोरीका कारण भएको टिप्पणी राजनीतिक दलहरूबाटै हुँदै आएको छ।
पछिल्ला केही दिनमा यिनै विषयमा आएका समाचार र टिप्पणीप्रति लक्षित गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमाथि शंका नगर्न आग्रह गरे। उनले निर्वाचनन आयोगको आलोचना गर्ने तथा निर्वाचनको वातावरण अस्थिर बनाउने काम नगर्न पनि अपिल गरे।
निर्वाचनको समयमा राजनीतिक दलहरूले राज्यका संयन्त्र र निकाय तथा तीनका अधिकारीलाई आफू अनुकूल प्रयोग गर्न खोज्ने भएकाले सर्तक रहन सुरक्षा निकायका पदाधिकारीलाई सचेत गराए। आचारसंहिताभित्र बसी सबै दल र उम्मेदवारले समान ढंगले प्रचारप्रसार गर्न पाउने अधिकार सुरक्षित गर्दै शान्ति सुरक्षा पूर्वक निर्वाचन सम्पन्न गराउनुमा सुरक्षा निकायको ठूलो भूमिका रहेको भन्दै प्रमुख आयुक्त यादवले निष्पक्ष भूमिका र सहयोगको अपेक्षा आयोगले गरेको उल्लेख गरे।
प्रमुख आयुक्त यादवले दलहरूलाई आचारसंहिता पालना गराउने सवालमा सचेत नागरिकको भूमिका निर्वाचन गर्न पनि सबैलाई आग्रह गरे।