ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले महानगरको विकासमा राय लिन १२ सदस्यीय विज्ञ टोली बनाएका छन्।
महानगरले बनाएको विज्ञ टोलीमा पूर्वमन्त्री ऋद्धिबाबा प्रधानदेखि पत्रकार कनकमणि दीक्षितसम्म अटाएका छन्।
पूर्वमहिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा पर्यटन सचिव ऋद्धिबाबा प्रधानलाई महानगरको सामाजिक सुरक्षातर्फको विज्ञका रूपमा नियुक्त गरिएको छ।
पूर्वमुख्य सचिव तीर्थमान श्रेष्ठलाई नीति र प्रक्रियाको विज्ञको जिम्मेवारी पाएका छन् भने पूर्वसचिव भरतबहादुर थापालाई संस्थागत विकास विज्ञ नियुक्त गरिएको छ।
सम्पदाविद् डा. रोहितकुमार रञ्जिकारलाई पुरातात्विक सम्पदाको विज्ञको रूपमा जिम्मेवारी दिइएको छ।
नेपाल क्यान्सर अस्पतालका वरिष्ठ डा. मदनकुमार पियालाई स्वास्थ्य विज्ञ, प्रफूल्लमान सिंहलाई शहरी विकास विज्ञ र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. केदारलाल श्रेष्ठलाई शिक्षा विज्ञका रुपमा नियुक्त गरिएको छ।
पत्रकार कनकमणि दीक्षितलाई सूचना प्रविधि तथा सामजिक सञ्जाल विज्ञका रूपमा राखिएको छ।
पद्मकुमार श्रेष्ठलाई खेलकुद विज्ञको रुपमा नियुक्त गरिएको छ केदारभक्त श्रेष्ठलाई महानगरको अन्तराष्ट्रिय सम्वन्धविज्ञको रुपमा नियुक्त गरिएको छ।
आर्थिक विज्ञको रुपमा विनोद श्रेष्ठ नियुक्त भएका छन् भने पर्यटन विज्ञमा दिलेन्द्रराज श्रेष्ठलाई नियुक्त गरेको छ।
टोलीसँग बसेर महानगरले पहिलो चरणको छलफल समेत गरिसकेको छ। मेयर महर्जनका अनुसार स्थानीय तहलाई दिएको अधिकारलाई प्रयोग गर्न सजिलो होस् भनेर विज्ञ सदस्य नियुक्त गरिएको हो।
‘विज्ञले दिने सुझावले नगरभित्रको आवश्यकता र समस्या पत्ता लगाउन सहज हुने र निर्णयमा पुग्न पनि सजिलो हुन्छ,’ मेयर .महर्जनले सेतोपाटीसँग भने, ‘हामी टोलीको सल्लाह, सुझाव र सहयोग अनुसार नै काम गर्न चाहन्छौं।’
कृषि लगायतका केही महत्वपूर्ण विषयमा विज्ञ नियुक्त गर्न बाँकी रहेको महानगरले जनाएको छ।
विज्ञहरूले आगामी १३ गतेदेखि काम थाल्नेछन् भने उनीहरुले बिना पारिश्रमिक काम गर्नेछन्।