दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखि ४५ जिल्लामा स्थापना भएका छन् ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु आजैदेखि सञ्चालनमा आएका हुन् ।
दोस्रो चरणमा प्रतिनिधि सभातर्फ १२८ र प्रदेश सभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ।
दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन्।
यस्तै, प्रदेश नं ४ का तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी (बर्दघाटसुस्ता पूर्व), प्रदेश नं ५ का पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्।
दोस्रो चरणमा एक करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्नेछन्। उक्त निर्वाचनका लागि आगामी कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।