आगामी मंसिर २१ गते हुने दोस्रो चरणको संघीय संसद र प्रदेश निर्वाचनका लागि मोरङ जिल्लामा मुख्य निर्वाचन अधिकारीको कार्यालय आज स्थापना भएको छ।
जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले विराटनगर–७ स्थित वीरेन्द्र सभागृहमा स्थापना गरेका सो कार्यालयको एक समारोहबीच उद्घाटन गरेका हुन्।
सो अवसरमा उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दलहरूसँग सहयोग गर्न आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुुरक्षाको प्रत्याभूति दिने विश्वास दिलाए।क्षेत्रीय निर्वाचन आयोगको कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले निर्वाचन निष्पक्षरुपमा सम्पन्न गर्न आचारसंहिता पालना गर्न दलहरूसँग आग्रह गरे।
यसैबीच, मुख्य निर्वाचन अधिकृतको कार्यालयका साथै मोरङ जिल्लाका आज छवटै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको छ ।
सोअनुरुप, जिल्लाको १ नं निर्वाचन क्षेत्रमा जीवनकुमार भण्डारी, २ नं क्षेत्रमा टंकबहादुर महत, ३ नं क्षेत्रमा विकास श्रेष्ठ, ४ नं क्षेत्रमा ईश्वरमणि ओझा, ५ नं क्षेत्रमा कृष्णमोहन कोइराला र ६ नं क्षेत्रमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा रहेका छन्।
यस जिल्लामा ३०० मतदानस्थलमा ७५८ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगको कार्यालय, विराटनगरले जनाएको छ ।
यसैबीच, हेटौंडाबाट प्राप्त समाचार अनुसार प्रदेश नं ३ अन्तर्गत मकवानपुर जिल्लामा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय हेटौंडास्थित जिल्ला समन्वय समितिको भवनमा आज स्थापना गरिएको छ।
उक्त निर्वाचन अधिकृतको कार्यालयको मकवानपुरका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले यहाँ सुरू गर्दै आगामी मंसिर २१ गते हुने निर्वाचनमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सञ्चालन गर्न निर्वाचन अधिकृतको कार्यालय प्रतिबद्ध रहने बताएका छन्।
चितवन– आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज चितवन जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। ती कार्यालयको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले उद्घाटन गरेका हुन्।
यसअघि स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको छात्रावासमा नै ती तीन कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको उद्घाटन गर्दै शर्माले निर्वाचन सफल बनाउन सबैको सहयोगको खाँचो रहने बताए। शान्तिपूर्ण वातावरणमा भयरहित तवरले निर्वाचन सम्पन्न गर्ने पनि उनले बताए।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापा, क्षेत्र नं १ का निर्वाचन अधिकृत परमेश्वर पराजुली, क्षेत्र नं ३ का निर्वाचन अधिकृत शम्भूराज रेग्मीलगायतको उपस्थिति रहेको थियो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।