नेकपा एमालेले रोहिङ्ग्या शरणार्थीलाई नेपाल प्रवेशमा रोक लगाउन माग गरेको छ।
एमालेको केन्द्रीय समिति बैठकले रोहिङ्ग्या शरणार्थीका कारण नेपाल शरणार्थी समस्यामा फस्न सक्ने भन्दै आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ।
एमालेले म्यानमारबाट बंगलादेश प्रवेश गरेका रोहिङ्ग्यालाई भारतको बाटो हुँदै अन्तरराष्ट्रिय कानून विपरित नेपाल प्रवेश गराउने कार्य भैरहेको जनाएको छ। तर, उसले यस्तो कार्यमा को संलग्न छ भन्ने खुलाएको छैन। काठमाडौंको कपनमा पछिल्लो समय रोहिङ्ग्या शरणार्थीको शिविर नै खडा भएको छ।
म्यानमारमा मुस्लिम रोहिङ्ग्या विरुद्ध त्यहाँको सेनाले कारबाही चलाएपछि रोहिङ्ग्याहरू देश छाडिरहेका छन्। झण्डै ४० हजार रोहिङ्ग्या विस्थापित भएर बंगलादेश आइपुगेका छन्। पछिल्लो समय नेपाल सरकारले रोहिङ्ग्यालाई नेपाल प्रवेशमा रोक लगाउन काकडभिट्टा नाकामा कडाई गर्दै आएको छ।