मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
प्रहरीले प्रसाईंलाई मंगलबार भक्तपुरबाट नियन्त्रणमा लिएको हो।
'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान' पनि सञ्चालन गर्दै आएका मेडिकल व्यवसायी प्रसाईंलाई साइबर अपराध मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएको हो।
प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै अपुष्ट 'प्रमाण' को स्क्रिनसट सार्वजनिक गरेका थिए।
प्रसाईंलाई प्रहरीले गत असोज ६ गते पनि पक्राउ गरेको थियो।
विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिने गरेको परेपछि प्रसाईं पक्राउ परेका थिए।
प्रहरीको साइबर ब्युरोले त्यसबेला पनि भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेको थियो।
त्यसबेला उनले घरको गेट खोल्न मानेका थिएनन्। भर्याङ लगाएर प्रहरी घरभित्र प्रवेश गरी प्रसाईंलाई नियन्त्रणमा लिनुपरेको थियो।
प्रसाईंविरूद्ध व्यक्तिको चरित्र हत्या गरेकोलगायत उजुरी परेको थियो। प्रसाईं त्यसबेला ९ दिन हिरासत बसेर छुटेका थिए। जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा प्रसाईंलाई ५०-५० हजार रुपैयाँ धरौटी लिने गरी अदालतले आदेश दिएको थियो।
यो पनि:
दुर्गा प्रसाईं पक्राउ
प्रधानमन्त्री ओलीमाथि दुर्गा प्रसाईंको जघन्य आरोप