खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवालाई चुनावपछि बन्ने सरकारको प्रधानमन्त्रीमा उम्मेदवार घोषणा गरी मतदातासमक्ष मत माग्न जाने स्पष्ट पारेका छन् ।
आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘हामी अबको चुनावमा आम मतदाताहरूसमक्ष पार्टी सभापति शेरबहादुर देउवालाई नै अघि सारेर मत माग्न जान्छौं, अब फेरि पनि उहाँ नै प्रधानमन्त्रीको उम्मेदवार हो, पार्टीभित्र यसबारेमा एकमत छ।’
मन्त्री यादवले ‘पार्टी सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेर मतदातासमक्ष जानुपर्छ, राष्ट्रिय स्वाधिनता, समृद्धि, लोकतान्त्रिक आचरण र सुशासनको विषयमा पार्टीले अगाडि सारेका मान्यतालाई अनुमोदन गराउनुपर्छ।’
यादवले यही असोज २ गते भएको प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीले पाएको मत सन्तोषजनक नभएको गुनासो पोखे । उनले भने,‘अहिले हामीले ४० सिट जितेका छौं, तर जितको सिट संख्या अझै धेरै बढ्न सक्दथ्यो, पार्टीभित्रको आन्तरिक कारण र व्यवस्थापकीय कमजोरीका कारण हामीले भनेजस्तो परिणाम ल्याउन सकेनौं ।’ उनले आफूहरूले आशा गरेजस्तो परिणाम नआएपनि २ नम्बर प्रदेशमा पहिलो भएकोले सन्तोष गर्नुपर्ने ठाउँ रहेको सुनाए ।
उनले मधेशी जनताले राष्ट्रियता र लोकतन्त्रको पक्षमा आफ्नो मत जाहेर गरेको भन्दै आफूहरू यो रिजल्टबाट त्यति धेरै असन्तोष भने नरहेको जिकिर गरे । उनले थपे,‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री हुनुहुन्छ, उहाँले लोकतन्त्र र संविधान कार्यान्वयनको लागि अहम भूमिका निर्वाह गर्नुभएको छ।’
मन्त्री यादवले वर्तमान सरकार प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै भने,‘सरकार आउने निर्वाचनको सम्पूर्ण तयारीमा जुटिसकेको छ, समयमै निर्वाचन सम्पन्न हुन्छ।’
त्यस्तै, उनले मधेशमा कांग्रेसजति कसैले पनि विकास नगरेको दाबी गरे । उनले थपे,‘मधेशमा हाम्रो पार्टीले जति कसैले पनि विकास गरेको छैन, राजश्री जनक विश्वविद्यालय, वीरगञ्ज विश्वविद्यालय, पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग लगायतका ठूला/ ठूला कामहरू कांग्रेसकै मन्त्रीको नेतृत्वमा भएको छ।’
आउने निर्वाचनपछि कांग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार गठन गर्ने उनको दाबी थियो । उनले भने,‘हामी बहुमतको सरकार बनाउँछौं।’
त्यस्तै, उनले मेलम्चीको खानेपानी केही महिनाभित्रै काठमाडौं आउने विश्वास दिलाए । उनले भने,‘विगतमा जे हल्ला र भ्रम थियो, अब त्यो भ्रम भने हटिसकेको छ, स्वयम् प्रधानमन्त्रीज्यूले पनि उक्त आयोजनाको लागि रकम अभाव हुन दिन्नौं भन्नुभएको छ, अब जम्मा १६ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ, तीन सिफ्टमा काम भैरहेको छ।’
यद्यपी उनले पानी आउन १५ दिन वा एक महिना ढिला भएपनि अत्तालिन नहुने धारणा राखे ।