संघीय समाजवादी फोरमका तर्फबाट वीरगञ्ज महानगरमा मेयरका उम्मेदवार विजय सरावगीले आफूले वीरगञ्जको मेयर पदमा जीत हात पार्ने दाबी गरेका छन्।
मतगणना नियाली रहेका उनले अब गणना हुन बाँकी रहेको क्षेत्रमा आफ्नो पकड रहेको दाबी गरे। 'म ‘कन्फर्म’ जित्छु', सरावगीले सेतोपाटीसँग भने, 'अब हाम्रो अग्रता हट्दैन।'
यसअघि कहिले राजपाका राजेशमान सिंह त कहिले कांग्रेसका अजय द्वीवेदी पटक- पटक मतगणनामा सरावगीको अगाडि आएका थिए। तर पछिल्लो पटक वडा नं ८ र १२ को गणना भइरहँदा मारवाडीको भोट सरावगीको पक्षमा आएको हो। त्यहाँ भोट बाँडिने अवस्था भएपनि ६० प्रतिशतभन्दा बढी भोट सरावगीले ल्याएका हुन्।
वीरगञ्जको वडा नं १३ देखि २० सम्मको मतपेटिका अझै खोलिएको छैन। त्यसो त कांग्रेसका उम्मेदवार अजय द्वीवेदीले पनि अझै हार स्वीकार गरेका छैनन्।
यद्यपी उनी मतगणनाको अवस्थाले निकै प्रतिस्पर्धा हुने बताउँछन्। सरावगी भने निर्वाचनको परिणाम अब आफ्नो पक्षमा रहेको दाबी गर्छन्। गणना हुन बाँकी रहेका क्षेत्रमा आफ्नो पक्षमा माहौल रहेको सरावगीले बताए। वीरगञ्जमा झण्डै पचास हजार मत गणना सकिएको छ। त्यहाँ सात स्थानमा मतगणना भैरहेको छ।