प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरूको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन् ।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरूको भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेदवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन् ।
उनले भने,‘चुनावमा उम्मेदवारहरूले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेला पारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेदवारहरूको उम्मेदवारी नै खारेजसम्म गरिदिन्छौं ।’ यद्यपी उनले मधेशमा अहिले सामाजिक–साँस्कृति पर्व चलिरहेकोले ती पर्वमा गरिने सामान्य भोजभतेरलाई अन्यथा लिन नहुने धाराणा राखे ।
साक्षात्कारमा बोल्दै उनले उम्मेदवारहरूले खर्च गरेको भए ती उम्मेदवारहरूलाई समेत पहिचान गरेर आयोगलाई दिन सञ्चारकर्मीहरूसँग आग्रह गरे । यादवले भने,‘तर अहिले सम्पन्नतातिर लम्कँदैछ, सबै धनी हुनु त राम्रो हो, अब धनी भैसकेपछि प्रतिष्पर्धा हुनु स्वभाविक हो ।’
निर्वाचन आचारसंहिता जारी अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल विस्तारमा आयोगको पूर्ण ध्यानाकार्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने भनाई राखे।
‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, यसबारेमा हाम्रो ध्यानाकार्षण भएको छ, बस त्यति हो,’ उनले भने,‘प्रधानमन्त्रीज्यूलाई कारवाही तथा जरिवाना गर्न मिल्दैन्, तर यसको मतलव यो होईन कि आयोग निरीह भने छैन।’
आयोगको ध्यानाकार्षणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विराटनगर विमानस्थलमा पत्रकारहरूसँग जवाफ पनि दिएको उनले जनाए । यादवले अघि भने,‘प्रधानमन्त्रीज्यूले भन्नुभएको छ कि अहिले संक्रमणकालिन अवस्था भएकोले मन्त्रिमण्डल विस्तार गर्नु बाध्यता भहो, उहाँले नै त्यसो भनिसकेपछि आयोग अब बढी विवाद गर्न चाहँदैन।’
यस्तै उनले निर्वाचन आचारसंहिता उल्लंघनबारे उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग स्पष्टीकरण समेत मागिएको बताए। उनले भने,‘राष्ट्रिय नेताहरूले स्पष्टीकरण दिनुभएको छ, उहाँहरूको जवाफमा आचारसंहिताको पूर्ण पालना गर्छौ भनेर प्रतिबद्धता आएको छ।’
यादवले आयोगले आचारसंहिता छिटो नलगाएको समेत जिकिर गरे । उनले भने,‘हामीले निर्वाचन आउनुभन्दा ८६ दिन अघिमात्रै आचारसंहिता लगाएका छौं, निर्वाचनको मिति घोषणा भएपनि आचारसंहिता लगाउने अधिकार हाम्रो हो, संसदले पारित गरेको निर्वाचन र कानूनलाई सबैले पालना गर्नुपर्छ।’
उनले निर्वाचनको सम्पूर्ण तयारी भैरहेको समेत विश्वास दिलाए । यद्यपी उनले केही अघिसम्म बाढीका कारण मधेशमा भयभित अवस्था रहेको भएपनि अहिले त्यो अवस्था नरहेको स्पष्ट पारे । उनले भने,‘आयोगको अनुरोधमा नेपाली सेनाले आवातजावत सहज भएको छ, सुरक्षाको अवस्था पनि धेरै राम्रो छ, सम्पूर्ण सुरक्षाकर्मीहरू सरकारले डिप्लोईड गरिसकेको छ।’