प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उल्लंघन गरेपनि प्रधानमन्त्रीलाई कारबाही गर्न मिल्ने अवस्था नरहेको प्रतिक्रिया दिए ।
निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तार गरेकोमा सर्वत्र आलोचना भइरहेको छ । तर, प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयलाई लिएर आफू विवादमा आउन नचाहेको पनि स्पष्ट पारे ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहिता पालना गराउने निकाय आफैँले उल्लंघन गर्नु हुन्न भन्ने मान्यतामा निर्वाचन आयोग रहेको स्पष्ट पारे । उनले आयोगको सम्पूर्ण ध्यान निर्वाचनलाई सफल बनाउन केन्द्रीत भएको बताए ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन आयोग सजग र सचेत रहेकोे स्पष्टीकरण दिए। उनले निर्वाचन आचारसंहिता व्यापक उल्लंघन भएको भन्ने भनाईमा सत्यता नरहेको दाबी गरे ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसहिता उल्लंंघन हुन नदिन आयोगले नियमनको कामलाई कडाइका साथ अघि बढाएको उल्लेख गरे ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन आयुक्तहरूकै नेतृत्वमा अनुगमन टोलीनै परिचालन गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन दबाब अभियान संचालन गर्न पनि नागरिक समाजसँग आग्रह गरेका छन् ।