नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताएका छन् ।
सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताए । पूर्व महामन्त्री निधिले नेकपा (एमाले) मधेस विरोधी शक्ति भएको प्रसंग उल्लेख गर्दै मधेसीलाई विदेशी भन्नेलाई मधेसी जनताले मतबाट सबक दिने समय आएको धारणा राखे ।
प्रदेश नं २ मा काँग्रेसको लहरलाई देखेर विपक्षी एमालेलगायतका दलहरूमा छटपटी बढेको बताउँदै एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप पनि लगाए ।
काँग्रेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले २ नं प्रदेशमा काँग्रेसका पक्षमा अपार जनसमर्थन देखिएको चर्चा गर्दै मतदाताहरूले काँग्रेसलाई अत्यधिक मतले जिताउन चुनावलाई अवसर र उत्सवका रूपमा लिएका छन् भने ।
उनले तेस्रो चरणको चुनाव मधेस र मधेसी जनताको पक्षमा उभिने र उभिन नचाहनेको जनमत संग्रह हो भने । रासस