युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ सिनियर च्याम्पियनसिपको आज कास्कीमा उद्घाटन गर्दै उनले खेलकुदको विकास गर्दै देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार लागेको बताए ।
पर्यटकीय नगरी पोखरामा खेल पर्यटनको विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले खेलको विकासका लागि सरकारका साथै उद्योगी, समाजसेवी सबैको साथ र सहयोग आवश्यक हुने बताए ।
‘पोखरालाई खेलको केन्द्र बनाउने हाम्रो योजना छ’, उनले भने, ‘आसन्न दक्षिण एशियाली खेलकुदका छवटा खेल पोखरामा गर्ने लगभग तय भइसकेको छ, थप अध्ययनपछि उक्त संख्या सात/आठ पुग्न पनि सक्छ ।’
खेलको विकासको लक्ष्यका साथ सरकारले हाई अल्टिच्यूड ट्रेनिङ सेण्टरको स्थापनाको तयारी गर्न लागेको उनले बताए ।
नेपाल लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले नेपालमा लन टेनिसको विकासका धेरै सम्भावना रहेको उल्लेख गरे ।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले प्रतियोगितामा फिनल्याण्ड, भारत र नेपालका गरी ९० जना प्रतियोगीले भाग लिने जानकारी दिए । रासस