माओवादी केन्द्रका नेता राम आधारले देश अहिले माओवादी केन्द्रको एजेण्डामा चलेको स्पष्ट पारेका छन् ।
आइतबार महोत्तरीको जलेश्वरमा आयोजित विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले सो कुरा स्पष्ट पारेका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने,‘देश अहिले माओवादी केन्द्रको एजेण्डामा चलिरहेको छ, यसमा कुनै दुईमत छैन, चाहे चुनावको कुरा गर्नुहोस, या मधेसी जनतालाई अधिकारसम्म बनाउने वा संविधान संशोधनमार्फत समस्याको हल गर्ने कुरा भन्नुहोस, यी सबै एजेण्डा माओवादीले बोकेर हिँडिरहको छ, मधेसी जनताको लागि काम गर्ने पार्टी भनेको नै हाम्रो पार्टी हो।’
उनले २ नम्बर प्रदेशको निर्वाचनमा जनताले माओवादी केन्द्रलाई जिताएर पहिलो पार्टी बनाउने विश्वास दिलाए । उनले भने,‘अहिले मधेसमा माओवादीप्रति ठूलो जनलहर छाएको छ, त्यसैले हाम्रो पार्टीले अत्यधिक मतले विजयी हासिल गर्छ।’
कार्यक्रममा एमालेबाट मेयरका उम्मेदवार माधव मण्डल र राजपाबाट मेयरका उम्मेदवार शंकर मिश्रले पनि आफ्ना एजेण्डाहरू सार्वजनिक गरेका थिए ।
उनीहरूले आफू विजयी भए जलेश्वरलाई समृद्ध बनाउने उद्धघोष गरेका थिए ।