भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले दक्ष जनशक्तिको अभावमा सडक र यातायात क्षेत्रलाई व्यवस्थित बनाउन नसकिएको स्पष्टीकरण दिएका छन् ।
मन्त्री बलायरले जनशक्तिकै अभावमा भौतिक तथा पूर्वाधार मन्त्रालय समस्यै समस्यामा उत्पन्न भएको बताएका हुन् । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा बोल्दै उनले जनशक्तिकै अभावमा १५ दिन भित्र काठमाडौं उपत्यकाको सडको खाल्डो पुर्न प्रधानमन्त्री देउवाले दिएको निर्देशन पालना गराउन समेत नसकिएको स्वीकारे ।
मन्त्री बलायरले दक्ष जनशक्ति व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालयलाई आफूले बारम्बार आग्रह गरेपनि सुनुवाई नभएको गुनासो गरे ।
उनले मन्त्रालय मातहतका सडकको तथ्यांक संकलन गर्दै त्यसको स्तरोन्नतिको कामलाई अघि बढाउन आफूले सडक विभागलाई निर्देशन दिएको जानकारी दिए ।
सहरी विकास मन्त्रालय र स्थानीय निकाय मातहतका सडक निर्माणको कामका ढिलाई हुँदा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि दोष थुपार्ने काम नगर्न सबैलाई आग्रह गरे ।
मन्त्री बलायरले सरकार पूर्वाधार निर्माणको कामलाई सहज ढंगले अघि बढाउन लागि परेको जानकारी दिए।