नेकपा एमाले रूपन्देहीले क्षेत्र नम्बर ३ को आसन्न उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन जिल्लाका पदाधिकारीलाई जिम्मा दिएको छ।
यसअघि बसेको पार्टीको निर्वाचन क्षेत्र नम्बर ३ को बैठकले निर्वाचनका लागि ४ जना आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो।
मंगलबार बुटवलमा बसेको जिल्ला सचिवालयको बैठकले निर्वाचनका लागि आकांक्षी बनेका ४ जना मध्येबाट उम्मेदवार सिफारिस गर्न पदाधिकारीलाई जिम्मेवारी दिएको हो।
एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले जिल्ला सचिवालय र क्षेत्रीय कमिटीले जिम्मेवारी दिए अनुरूप पदाधिकारीले उम्मेदवारको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गर्ने जानकारी दिए।
'सचिवालय र क्षेत्रीय कमिटीले जिम्मेवारी दिए अनुरूप सकेसम्म एक जनामा सहमति जुटाउने र त्यो हुन नसके सोही अनुसार निर्णय गरेर प्रदेश र केन्द्रीय कमिटीमा नाम सिफारिस गर्ने गरी पदाधिकारीलाई जिम्मेवारी दिइएको छ,' पौडेलले भने।
२०७९ सालमा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि रूपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। निर्वाचनका लागि एमालेले यसअघि नै क्षेत्रीय कमिटीलाई आकांक्षीहरूको नाम सिफारिस गर्न निर्देशन गरेको थियो।
जिल्ला कमिटीको सोही निर्देशन अनुसार क्षेत्रीय कमिटीले आकांक्षीहरू पार्टीका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि अधिकारी, यज्ञ जित शाह र शशि पौडेलको नाम सिफारिस गरेको थियो।
निर्वाचनका लागि चार जनाले आकांक्षा व्यक्त गरेपछि पार्टीले सर्वसम्मत सिफारिस गर्न पार्टी भित्र छलफल चलाउन थालेको हो।
मंगलबार बसेको सचिवालय बैठकले सर्वसम्मत उम्मेदवार छनोटका लागि पहल गर्दै प्रदेश कमिटीमा सुझाव सहित २०८२ भदौ १५ गतेभित्र उम्मेदवारको सिफारिस गर्न जिल्लाका पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पौडेलले जानकारी दिए।
बैठकले उम्मेदवारको विषयसँगै पार्टीको आसन्न विधान महाधिवेशनमा प्रस्तुत हुने संशोधित विधान मस्यौदाको अध्ययन र छलफल गरी थप लिखित सुझाव दिने पनि निर्णय गरेको छ।
पार्टीका जिल्ला अध्यक्ष यज्ञ गैरेले बैठकमा प्रस्तुत गरेको विधान मस्यौदामाथि अध्ययन र व्यापक छलफल गरी आगामी भदौ ३ गतेभित्र जिल्ला कमिटीको कार्यालयमा थप लिखित सुझाव पेस गर्न मातहतका कमिटिलाई निर्देशन गर्ने निर्णय पनि बैठकले गरेको छ।