गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रेस रजिष्ट्रारको कार्यालय उद्घाटन गरेका छन्।
प्रदेशमा स्थापना भएको संचार माध्यमको दर्ता, नवीकरण, वर्गीकरण, अनुगमन र नियमनका लागि प्रदेशले प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गरेको हो।
कार्यालय उद्घाटनमा बोल्दै रजिष्ट्रारको कार्यालयलाई कार्यपालिकाबाट कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने मुख्यमन्त्री पाण्डेले बताए।
प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरूदण्ड भएको भन्दै उनले पत्रकारिताको प्रवर्द्धन गर्न प्रेस रजिष्ट्रारको व्यवस्था गरेको बताए।
‘प्रेस रजिष्ट्रारको कार्यालय स्वायत्त हुन्छ, यसमा कार्यपालिकाको छाया पर्न दिन्नँ,’ उनले भने, ‘सञ्चार माध्यमलाई व्यवस्थित गर्दै स्वतन्त्र र व्यावसायिक पत्रकारिताको प्रवर्द्धन, नियमन र अभिलेख राख्न प्रेस रजिष्ट्रारको कार्यालयले सहयोग गर्नेछ।’
व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्न प्रदेश सरकारले आवश्यक नीति, संरचना र स्रोत सुनिश्चित गरेको भन्दै उनले पत्रकारिताको स्वतन्त्रता र पेशागत अधिकार रक्षा गर्न प्रदेश सरकारको सहयोग जारी रहने बताए।
गण्डकीका प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालयको उद्देश्य, कानूनी अधिकार र कार्यक्षेत्रबारे जानकारी गराइन्।
प्रेस रजिष्ट्रारको कार्यालयले सञ्चार माध्यमको दर्ता र नवीकरण मात्र नभएर पारदर्शिता, उत्तरदायित्व र पेशागत मर्यादा कायम गर्ने अभिभावक संस्था बनाउन सहकार्य आवश्यक भएको बताइन्।
‘स्वतन्त्र र व्यावसायिक पत्रकारितामा अहिले संकट देखिएको छ, यस्तो अवस्थामा राज्यले पनि पत्रकारिताको प्रवर्द्धन गर्न भूमिका खेल्नुपर्छ,’ उनले भनिन्, ‘प्रेस रजिष्ट्रारको कार्यालयले सञ्चार माध्यमको दर्ता र नवीकरण मात्र होइन, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको पनि पृष्ठपोषण गर्छ।’
प्रेस रजिष्ट्रारको कार्यालयले सञ्चार संस्थाको सञ्चालन अनुमतिपत्र प्रदान र नवीकरण, १०० देखि १,००० वाटसम्मको एफ.एम. रेडियोको इजाजत, छापा माध्यम, अनलाइन, टेलिभिजन र केबल वितरकको अभिलेख व्यवस्थापन, फ्रिक्वेन्सी योजना निर्माण, गुनासोको सुनुवाइ, अनुसन्धान र मूल्यांकन, श्रमजीवी पत्रकारको सेवा–सुविधा अनुगमन, पत्रकार कल्याणकारी कोष, विज्ञ सूची निर्माण, तालिम तथा छात्रवृत्ति समन्वय, पत्रकार कल्याण कोष, लोककल्याणकारी विज्ञापन वितरण, वर्गीकरण र सिफारिस र प्रदेश सरकार, सञ्चार संस्था तथा पत्रकारबीचको समन्वय लगायतको कार्य गर्न वार्षिक योजना बनाएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा पत्रकारिता क्षेत्रको सशक्तीकरण लगायत विभिन्न शीर्षकमा ५ करोड ३० लाख रुपैयाँ विनियोजन भएको बताइन्।
प्रदेशका सञ्चार माध्यमलाई दिँदै आएको लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिने, पत्रकारको क्षमता अभिवृद्धि र लेखनवृत्ति कार्यक्रमलाई प्राथमिकता दिएको भण्डारीले बताइन्।
प्रेस रजिष्ट्रार कार्यालय उद्घाटनमा गण्डकी प्रदेशका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले प्रेस स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकास गर्नु सरकारको दायित्व भएको बताए।
उनले प्रेस रजिष्ट्रारको कार्यालयलाई सरकारले नीतिगत र स्रोत साधनले सम्पन्न बनाउन सहयोग जारी रहने बताए।