नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन्।
बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता सापकोटाले हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ उर्जा दिएको बताउँदै आगामी निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका हुन्।
सोहीअनुसार पार्टीका जनवर्गीय संगठन, विभिन्न मोर्चाहरू पार्टी निर्माणमा लागेको उनले बताए।
उनले यसअघि कहिले एमाले, कहिले कांग्रेससंग मिल्ने हुँदा माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखिँदा जनता, शहीद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएकोले पार्टी बीचमा केही कमजोरी भएको स्वीकार गरे।
‘हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते भयो। अलिकति धुमिल भयो, त्यही वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएकै कारणले गर्र्दाखेरी हाम्रो शहिद परिवारप्रति अलि उदासिनता, शहीद परिवारप्रति जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि वेवास्ता भएको जस्तो भएको थियो,' उनले भने।
'पार्टीले २०८४ सालमा एकल बहुमत हाँसिल गर्नको लागी समाजवादी क्रान्तिको रुपरेखा र मागचित्र स्पष्ट पारेको छ,' उनले अगाडि भने।
उनले भने २०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रिय समितिको बैठकले समाजवादी क्रान्तिको रुपरेखा, मागचित्रलाई प्रष्ट पारेको उनको बताए।
रुपान्तरण शुद्धिकरणका लागी पार्टीले विगतमा भएका कमी कमजोरीको आत्मासमीक्षा गरेर अगाडि बढेको उनले बताए।
दर्शन, विचार, दृष्टिकोण, रणनीति, कार्यनीति,कार्ययोजना, योजना, कार्यक्रम लागू गर्ने संकल्पका साथ पार्टीले केही समयअघि हुलाकीमार्ग केन्द्रित अभियान चलाएको उनले बताए।
उक्त अभियान आफूहरु जनताको भित्री तहसम्म पुगेर उनीहरुको समस्याका बारेमा अध्ययन गर्ने मौका लिएको र महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्ग अभियानले पनि पार्टीको जनसम्बन्धलाई झनै सुदृढीकरण बनाएको उनको दाबी छ।
'त्यो अभियानमा हामी जनताको भित्रि तहसम्म गयौं। सहिद परिवार, बेपत्ता परिवार, मधेसका जनताका समस्याका बारेमा अध्ययन गर्न पायौं। अहिले मधेसको सबैभन्दा ठूलो समस्या भनेको त्यहाँ सामाजिक विभेद छ। त्यहाँबाट हामीले धेरै कुरा अध्ययन पनि गयौँ । जनतालाई सिकायौँ पनि जनताबाट सिक्यौँ पनि । त्यसपछि हामीले मध्ये पहाडीको अभियान पोखरामा आएर स्थगित गरेका छौं। त्यसलाई फेरि गर्ने निर्णय भएको छ । महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्गमा हामीले जनसम्बन्धलाई सुढृढीकरण गर्यौं,’ उनले भने। -न्युज एजेन्सी नेपाल