दाङको क्षेत्र नम्बर- १ बाट निर्वाचित संघीय सांसद मेटमणि चौधरीविरूद्ध हुलाकमार्फत् चेक अनादर जाहेरी पठाएका व्यवसायीले जाहेरी फिर्ताका लागि पत्राचार गरेका छन्।
आइतबार रोल्पा घर भई पछिल्लो समय दाङको घोराहीमा बस्दै आएका निर्माण व्यवसायी धात बुढा मगरले जाहेरी फिर्ताका लागि जाहेरी फिर्ता लिन चाहेको बेहोरोको पत्र पाएको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए।
एकीकृत समाजवादीका सचेतक तथा उपमहासचिव समेत रहेका चौधरीविरूद्ध बुधबार ५ करोड ४० लाखको चेक अनादरसम्बन्धि जाहेरी हुलाकमार्फत् जिल्ला प्रहरी कार्यालय घोराहीमा पठाएका थिए।
यो बीचमा जाहेरी पठाउने मगरलाई प्रहरीले चेक अनादरबारे परेको जाहेरी सनाखत गर्नका लागि पटक/ पटक बोलाएको थियो। उनी त्यो सनाखत गर्न नआएपछि जाहेरी दर्ता हुन सकेको थिएन।
‘त्यो उजुरी पठाउने व्यक्ति उहाँ नै हो कि हैन वा अरू कसैले पठाइ दिएको हो भन्ने कुराको सनाखत गर्न बोलाउँदा पनि उहाँ यो बीचमा आउनुभएन, त्यसैले दर्ता भएको थिएन,’ उनले भने ‘हुलाकबाट आएको पत्र सम्बन्धित व्यक्तिले सनाखत नगरेसम्म दर्ता गर्न मिल्दैन।’
त्यसरी हुलाकमार्फत् आएको उजुरीमा हप्ता दिनभित्र पीडित भनिएका व्यक्ति मेटमणिविरुद्धको चेक अनादरसम्बन्धि उजुरी फिर्ता लिन प्रहरीमा पत्राचारतका लागि प्रहरी कार्यालय पुग्नुपर्ने व्यवस्था छ।
‘अझैं पनि सम्बन्धित व्यक्ति आएर सनाखत गरे जाहेरी दर्ता गर्न मिल्छ,’ एसपी तिमिल्सिनाले भने, ‘यदि उहाँ आउनु नै भएन भने त प्रहरीले पनि केही गर्न सक्दैँन।’
दबाव वा प्रभावका कारण प्रहरीमा गई उजुरी गर्न नसक्ने अवस्थामा पीडितले हुलाक मार्फत जाहेरी पठाउन सक्छन्।
एसपी तिमिल्सिनाले त्यस्तो कुनै समस्या भए प्रहरीसँग निर्धक्क राख्न आग्रह गरे।
यो पनिः
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध जाहेरी