अस्ति मात्र काम विशेषले नुवाकोटको बट्टार पुगेको। काठमाडौं खाल्डोबाट दोपहरमा टोखा-छहरेको बाटो, साँझ गल्छी हुँदै राजधानी फर्किएको। सात घन्टाको अविराम ड्राइभिङ।
सन्ध्याकाल। सुसाइरहेकी त्रिशुली। सुस्ताइरहेको बट्टार।
दुवैलाई आँखाभरि हेर्न नपाएको भारी मन बोकेको म। गिटी, बालुवाको भारी ओसारिरहेका टिपरहरू। दुवै बैरागलाग्दो र एकसुरे हिँडाइमा कुदिरहेका थियौं राजधानीतिर।
बट्टारका सम्झना सुकिनसक्दै उलानबटारमा मनोनयन गरेको पत्र आयो अफिसबाट। मंगोलियाको राजधानीको उडान डेढ महिनापछि। उलानबटार यात्रा बट्टारजस्तो पट्यारलाग्दो नहुने विश्वासमा मन मंगोलियन घोडाझैं कुद्ने नै भयो।
हङकङ ट्रान्जिट
काठमाडौंबाट सिधा फ्लाइट छैन उलानबटार, ट्रान्जिट लिनैपर्छ। सिंगल ट्रान्जिट हङकङमा मात्र भएकाले विकल्प सोचिएन। बरू लागियो क्याथे प्यासिफिकको फ्लाइटबाट गन्तव्यतिर। भूगोलमा फुच्चे छ हङकङ, अस्ति गएको नुवाकोट जिल्लाजत्रै तर अर्थतन्त्र विशाल।
हङकङको आकाशमा उक्लिन सूर्यदेवको सुरसार चलिरहँदा जहाज एअरपोर्टमा ओर्लियो। साढे आठ मिटरको उचाइमा बसेको एयरपोर्टमा तीन रनवे रहेछन्। प्लेन कुनमा बस्यो बस्यो!
हङकङमा सबेरै झरेर अध्यागमन 'क्लियर' गरेर ट्रान्जिट लिइसकेपछि कुलले भनेको सम्झिएँ– स्टारबक्सको ककी दाम्मी हुन्छ यार, खाउ है!
स्टारबक्स खोजीमा लागेँ। पर कफी हाउसमा देखिए 'सोभेनियर' का लागि सजाएर राखिएका मग र कपहरू। यात्राको अनिँदो र थकानले गडेका आँखा भित्ते डिजिटल मेनुमा गाडेँ। सत्तरी हङकङ डलरको स्पेसल कफी अर्डर गरेँ।
टोकन नम्बर १९, सेल्फ सर्भिसको पालो कुरेँ। मिनेटमै बनेर मगमगाउँदै काउन्टरमै आयो तात्तातो कफी। बोकेर रेस्ट एरियामा बसेर कुल हुँदै हट कफी खाएपछि बल्ल ज्यानमा जाँगर दौडियो।
अनि म दौडिएँ एयरपोर्ट हेर्न। साठीभन्दा बढी रेस्टुरेन्ट। दुई सयभन्दा बढी पसल। साठी हजारलाई रोजगारी। भित्र यात्रु, बाहिर प्लेनको ओहोरदोहोर।
सानोतिनो सहरै रहेछ एयरपोर्ट त। ड्युटी–फ्री र गिफ्ट सपहरूका सामान हेर्दाहेर्दै। स्काइ–डेकमा उक्लिएर एयरपोर्टको थ्रि–डी पिक्चर अनि भ्यु–प्वाइन्टको दूरबिनबाट वरिपरिको दृश्य नियाल्दा नियाल्दै। छ घन्टाको ट्रान्जिट सकिएर मंगोलिया जान खोजी भइसकेछ। लागियो गेट नम्बर १५ तिर।

रिसिभ गर्न आएकी खालिउन
हङकङ एयरपोर्टको भीडबाट फुत्किएको मनुवालाई चंगिज खाँ अन्तर्राष्ट्रिय विमानस्थल सुनसान नलागोस् किन?
चार वर्षअघि पूर्ण सञ्चालनमा आएको, चारतारे एयरपोर्टको उपाधि पाएको। फ्लाइट संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पनि कम। दूर दूरसम्म बस्ती नदेखिने एकान्तमा बसेको मंगोलियाको एकल अन्तर्राष्ट्रिय विमानस्थल।
आगमन टर्मिनलमा छिर्नासाथ मोबाइलमा फ्री–वाइफाइको सिग्नल झुल्कियो।
कनेक्ट गर्नासाथ ह्वाट्सएपमा खत्रक्क म्यासेज आयो, 'हेलो! म मिस खालिउन। तपाईंलाई रिसिभ गर्न आएकी सम्पर्क अधिकृत। चश्मा र कालो ड्रेसमा बाहिर प्रतीक्षामा छु।'
अध्यागमनबाट बाहिरिनासाथ हातमा मेरो नामको प्लाकार्ड बोकेकी खालिउन नजरमा परिहालिन्। हात हल्लाएर हाई गरेँ। झुकेर अभिवादन गरिन्। मैले परिचय फ्याँके उनीतिर। उनले स्वागतका शब्द फर्काइन्। मुस्कान सित्तैमा।
नेसनल युनिभर्सिटी अफ मंगोलियाकि छात्रा, यस कार्यक्रमका लागि स्वयंसेवक रहिछन्।
उलानबटारमा करेन्सी साट्न सहज रहेनछ। त्यतै मनी एक्सचेन्जतिर डोहोर्याइन्। काउन्टरमा दुई सय डलर दिएँ। सय–सयका दुई नोट। राहदानी पनि। सात लाख बाह्र हजार तुगरिक (मंगोलियन पैसा) को बिटो मेरो हातमा आइपुग्यो।
नोट चिन्नै गाह्रो, गन्नु त परको कुरो। बीस हजार, दस हजार र एक हजारको बिटो खालिउनलाई गन्न दिएँ। ठीक भएको सहमति जनाइन्। पैसा पर्समा अटाएनन्, झोलामै राखेर निस्कियौं सरर सहरतिर।
खालिउनसँग मंगोलियाको जानकारी लिँदै लिँदै, बाटो अनि बस्ती हेर्दै हेर्दै, ट्राफिकमा रोकिँदै रोकिँदै होटल पुगेको पत्तै भएन।
वाउ! उलानबटार
तुल नदी किनारमा छ उलानबटार। पर्वतहरूका पर्खालबीचको मंगोलियाको राजधानी। उलानबटारको अर्थ 'रेड हिरो'। सन् १९२४ मा मंगोलिया कम्युनिस्ट मुलुक भएसँगै नामकरण भएको। मंगोलियाकै ठूलो सहर। संसारकै चिसो राजधानी। चिल्ला चौडा सडक। अत्यधिक चारपांग्रे गाडी। पर्याप्त ट्राफिक।
सहर पस्दा देखिन्छन् गगनचुम्बी महलहरू। सहरबाहिर खुला मैदानमा 'गिर' हरू (गिरबारे तल चर्चा गरेको छु)। सहरमा मर्सिडिज दौडिरहेछन्, यहाँ ऊँट–घोडा। एकातिर आधुनिकता अर्कोतिर परम्पराको बेजोड नमूना उलानबटार। गंडन गुम्बा। चंगिज खाँ म्युजियम। सुखबटार स्क्वायरजस्ता पर्यटकीयस्थल। चंगिज खाँको दुनियाँकै ठूलो घोडसवार प्रतिमा पनि धेरै टाढा छैन।
खोजेझैं खान चाइनिज, जापानिज, कोरियन, इटालियन र इन्डियन रेस्टुरेन्टहरू।
हलाल फुड खाने कि नोम्याडिक? कि अरू नै? मज्जाले रोज्न सकिन्छ।
किनमेलका लागि स्ट्रिट मार्केटदेखि सुपर मार्केटसम्म। स्टेट डिपार्टमेन्ट स्टोरजस्ता नुनदेखि सुनसम्म पाउने स्टोर पनि छन् जहाँ मैले पनि किनेँ एउटा बेल्ट, केही चकलेट र कश्मिरी सल।

मंगोलिया
मंगोलियाको उत्तरमा रसिया बसेको छ, नेपालको उत्तरमा चीन बसेझैं। पूर्व, दक्षिण र पश्चिमतिर तीनतिर चीन, नेपाललाई भारतले घेरेझैं। नेपालझैं भूपरिवेष्ठित। विश्वको दोस्रो ठूलो भूपरिवेष्ठित मुलुक। क्षेत्रफलमा विश्वको अठारौं र नेपालभन्दा साढे दस गुणा ठूलो। ग्रिनल्यान्डपछि विश्वमै थोरै जनघनत्व हुने मुलुक। प्रति वर्ग किलोमिटरमा जम्मा दुई जना बस्ने। आधी जनसंख्या त राजधानीमै।
ऐतिहासिक धरोहर, सांस्कृतिक सम्पदा र मनोरम प्रकृतिको संगम। आधुनिकता र परम्पराको मिश्रण। मंगोलियाको इतिहास रोचक छ। संसारै कब्जामा लिन खोज्ने चंगिज खाँको मंगोल साम्राज्य कुनै बेला विश्वको बाइस प्रतिशत भूगोलमा फैलिएको रहेछ। १५,६४,११६ वर्ग किलोमिटरमा त पछि खुम्चिएको हो। भित्री मंगोलिया भनिने त्यति बेलाको खास मंगोलिया अहिले चीनमा पर्ने रहेछ।
तेह्रौं–चौधौं शताब्दीको मंगोल युग राजनीतिक स्थिरता, व्यापार, सांस्कृतिक आदानप्रदानका लागि चिनिन्छ। त्यही बेला सुरू भयो व्यापारी, विद्वान र यात्रीहरू स्वतन्त्रतापूर्वक, सुरक्षित रूपले चीनदेखि भूमध्य सागरसम्म पुग्ने क्रम। त्यही बेला मंगोलहरूले हुलाक प्रणाली सुरूआत गरे। आर्थिक विकास र अन्तर्राष्ट्रिय कूटनीतिको थालनी गरे। उनीहरू विश्वव्यापीकरणको सुरूआत यसै अवधिमा भएको मान्छन्।
'गिर'
घुमन्ते नोम्याडिक जीवनशैली कायमै छ मंगोलियामा। दुई लाख परिवार अर्थात तीस प्रतिशत मंगोलियन घुमन्ते जीवनमै गिर अर्थात् 'यर्ट' मा बस्छन् (आवरण तस्बिर)। उत्तरी चिसो हावा रोक्न दक्षिणतिर ढोका बनाइएका परम्परागत, अस्थायी, सार्न मिल्ने, बाटुला, सुन्दर घर हुन् गिर।
एकदिनमै तयार गर्न सकिने गिरको बीचमा दुइटा खम्बाको आड हुन्छ। बायाँतिर पुरूष, दायाँतिर महिला बस्ने ठाउँ। छाना अनि बारहरूमा मसिना काठको भर। बाहिरभित्र भेडाको ऊनको न्यानो गद्दा र वाटरप्रुफ कपडा। चौडा फलेकहरूको भुइँ। ती निर्माण सामग्री तीसौं वर्ष प्रयोग गर्न सकिन्छ।

बास्कासँग भेट
सन् २०१४ मा एउटा तालिममा बैंकक गएको थिएँ। बास्का मंगोल पोस्टबाट थिइन्, म नेपाल हुलाकबाट। तालिममै बास्कासँग मित्रता भयो। तालिमबाट छुट्टिएपछि पनि कहिलेकाहीँ म्यासेन्जरमा कुराकानी भयो। तर वर्षौं भएको थियो कुरा नभएको।
उनकै देश पुगेको दुई दिनपछि उनलाई सम्झिएर फेसबुकमा खोज्दा भेटिनँ। भासरन्गा यस्तै केही नाम थियो, 'बास्का सुन' मा भएछ। कसरी भेट्नु?
म्यासेन्जरमा चार वर्षे मौनता तोड्दै उलानबटार पुगेको म्यासेज छोडेँ। सानी छोरीलाई लिएर बोग्दखान माउन्टेनतिर गएकी रहिछन्। छोरोलाई ड्राइभर बनाएर पर्सी बिहानै भेट्न आइन्।
एकातिर तालिम सुरू हुने बेला, अर्कोतिर ट्राफिकका कारण ढिला पुग्दा बास्कासँग पार्किङमै भेट्नुपर्यो। पन्ध्र मिनेट होला भलाकुसारी गर्न, पुराना सम्झनाहरू कोट्ट्याउन र जागिरका कुरा पोख्न पाएको।
संक्षिप्त भेटघाटमा बास्काले भनेका दुइटा कुराले बेस्सरी झक्झक्यायो।
पहिलो, 'तिमी निकै काम गर्छौ क्या हो, सेतै फुलेछौ। धेरै काम नगर्नू, जिन्दगी हो ठूलो कुरा!'
दोस्रो, 'यो चकलेट तिम्रो छोराछोरी र श्रीमतीलाई। तिमीलाई थोरैथोरै खाने सर्तमा यो मंगोलियन भोड्का।'
बास्काले उपहार थमाउँदै भनेका कुराले मनमा चालीस टनको भार बोकेको गाडी कुदेझैं गह्रुँगो भयो। भूगोल, जात, धर्म, उमेर, भाषा, संस्कृति नमिले पनि मन र भावना सबैको एउटै हुने रहेछ।
मैले न यहाँबाट उपहार लगेको थिएँ, न उता किन्ने फुर्सत पाएँ। उपहार लिएँ मात्र, दिन सकिनँ। उपहार लेनदेनको कलामा म लद्दु साबित भएको छु पटक पटक।
मंगोलियाका विशेषता
बाख्रा, भेडा, याक, ऊँट र घोडा गरी मूलतः पाँचथरी चौपाया भेटिने तीन–चौथाइ भूभाग चरिचरन क्षेत्र। दुई जुरे ऊँट र जंगली घोडा पनि पाइने। सर्वाधिक खाइने परिकार बुज अर्थात् डम्पलिङ।
राष्ट्रिय पेय पदार्थ– घोडाको दूधबाट बन्ने अल्कोहलिक 'ऐराग'। पाहुनाको स्वागतमा बटुकोमा सारिहाल्ने, नेपालमा पानी दिएजस्तै। नखाएदिए नमज्जा मान्ने भएकाले मन परोस्, नपरोस् चुस्की लाउनैपर्यो!
अनन्त नीलो आकाश। आकाशलाई पिता, धर्तीलाई माता मान्ने रहेछन् मंगोलियनहरू।
अन्तहीन मैदान। विश्वकै चिसो मरूभूमि गोवी। विश्वकै पुरानो बोग्द खान राष्ट्रिय निकुञ्ज। डाइनासोरको अस्थिपञ्जर र अण्डा फेला परेको एक मात्र ठाउँ मंगोलियामै छन्।
'घोडचढीहरूको देश' उपनाम हो मंगोलियाको। कुस्ती अर्थात् बोख राष्ट्रिय खेल भइहाल्यो। ठूलो कुस्ती प्रतियोगिताको विश्व कीर्तिमान मंगोलियासँगै छ।

ढिलो रात पर्ने
हामी इल फियोरे इटालियन रेस्टुरेन्टको २६ औं तलामा छौं, डिनरका लागि। जेजु कल्चरल साँझ चलिरहेछ। स्वादिष्ट परिकारहरू छिनछिनमा टेबलमा आइरहेका छन्। रातो–सेतो वाइनहरूको माग उच्च छ। रोजाइमा नपरेका बियरका बोतलहरू, रित्तिएका वाइनका बोतललाई आरिसले हेर्दै ठुस्किरहेछन्, खोले पनि फिँज फालेरै पोखिउँलाझैं गरी!
साढे सात बजे अनाउन्समेन्ट हुन्छ — आई रिक्वेस्ट यू अल टू कम फर अ ग्रुप फोटो।
रेस्टुरेन्टको कोठा रित्तो पारेर टोली रूफटपतिर फोटो सेसनका लागि हानिन्छ। रूफटपमा निस्किँदा बाहिर झलमल्लै छ। पर 'द ब्लू स्काई टावर' टल्किरहेछ। मेनरोडको उच्च ट्राफिकमा गाडीहरू सुस्त सुस्त बगिरहेछन्। ढिलै रात पर्ने रहेछ भन्ने लाग्यो।
आठ बजे बाहिर चियाउँदा पनि सारा क्षितिज उज्यालै छ।
होइन, आज घामलाई घर जान किन अल्छी लागेको, कि उसलाई पनि उलानबटारको चकाचौंध छोड्न मन नलागेको हो — सोच्दा सोच्दै झन्डै नौ बजेतिर बल्ल अध्याँरो भयो।
उत्तरी गोलार्धमा उचाइमा रहेकाले नेपालभन्दा दुई घन्टा ढिला रात पर्ने रहेछ उलानबटारतिर।
मंगोलियामा पर्यटन
आकाशमा करोडौं तारा झुल्किने मंगोलियामा पर्यटक भने नेपालजति पनि नझुल्किने रहेछन्।
सन् २०२४ मा आठ लाख पर्यटक आएछन्। नेपालमा बरू साढे एघार लाख पुगेछन्। संख्यामा पछाडि भए पनि ट्राभल एन्ड टुरिज्म डेभलपमेन्ट सूचकांकमा ऊ २५ औं स्थानमा छ, नेपाल १०५ औंमा। जिडिपीमा पर्यटन क्षेत्रको योगदान उता ७ प्रतिशत छ, नेपालमा फुड एन्ड एकोमोडेसनबाट २.५ प्रतिशतजति।
मंगोलिया सात पर्यटकीय क्षेत्रमा वर्गीकरण गरिएको छ।। गो–मंगोलिया अभियान, ग्रेट टी रोड प्रोजेक्टजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। सन् २०२३–२०२८ लाई मंगोलिया भ्रमण वर्ष घोषणा गरिएको छ। तेह्र देशलाई स्रोत मानेर प्रचार प्रसार बढाइएको छ। नोम्याड फेस्टिभल, आइस फेस्टिभल आदिमा जोड दिइएको छ।
मंगोलियाको लक्ष्य सन् २०२५ मा दस लाख अनि सन् २०३० सम्म बीस लाख पर्यटक भित्र्याउने छ।
तालिमका कुरा
सांस्कृतिक पर्यटनसम्बन्धी चारदिने तालिम। आयोजक मंगोलियाको पर्यटन मन्त्रालय। व्यवस्थापक युएन टुरिज्म। प्रायोजक दक्षिण कोरियाको पर्यटन मन्त्रालय। तालिमस्थल उलानबटारको पाँचतारे नोभोटेल होटल। एसिया प्यासिफिक क्षेत्रका एक्काइस देशका २५ जना सहभागी। पर्यवेक्षक, युएन टुरिज्मका कर्मचारी र प्यानलिस्टसहित ४० जनाजति।
मंगोलियालाई नजिकबाट चिन्ने अवसर मिल्यो। नोम्याडिक जीवन नजिकबाट अनुभूति गर्न पाइयो। सहभागी देशका पर्यटन क्षेत्रका असल अभ्यासबारे जानकारी पाइयो। नेपालको सांस्कृतिक पर्यटनबारे भन्न पाइयो। दक्षिण एसियाकै पहिलो होमस्टे सिरूबारीबारे गर्व गर्दै सुनाउन पाइयो।
छाती चौडा पार्दै नेपालको जातीय र भाषागत विविधताको चर्चा गर्न छुटाइएन। विश्व सम्पदा सूचीमा परेका सांस्कृतिक सम्पदाको चर्चा गरियो। बौद्धमार्गी मंगोलियनलाई लुम्बिनी भ्रमणको निम्तो बाँड्न पाइयो। सगरमाथाबारे सुनाउन पाइयो।
अन्त्यमा
मंगोलियामा 'गिर' मा नोम्याडिक जीवनशैली मात्र देखिँदैन, गगनचुम्बी अपार्टमेन्टमा आधुनिक जीवनशैली पनि देखिन्छ।
प्रत्येकजसो सहरियासँग आयातीत गाडी छन्। मंगोलियाका राष्ट्रिय गौरव चंगिज खाँको दर्शन बोकेर मंगोलिया आधुनिकतातर्फ लम्किँदैछ।
मंगोलियाको सन् २०३० सम्म एक अर्ब रूख रोप्ने राष्ट्रिय अभियान छ। पछिल्लो तीन वर्षमा ८ करोड ४० लाख त रोपिसक्यो।
विकासलाई गति दिन सन् २०२४ देखि २०२८ सम्म रेलवे, हाइड्रो, नवीकरणीय ऊर्जा, न्युक्लियर पावर प्लान्ट, गोवी मरूभूमिमा पानीका पूर्वाधारका साथै तेल, तामा र सुन प्रशोधन उद्योग स्थापनाजस्ता चौध मेगा प्रोजेक्ट घोषणा गरेर कार्यान्वयन गरिरहेछ।
भिजनका साथ विकासको दौडमा घोडाझैं कुद्न लागिपरेको छ मंगोलिया।

(लेखक गोकर्णप्रसाद उपाध्याय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हुन्। उनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)