राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्यको अनुदार चरित्रले पार्टीलाई थप एकताबद्ध बनाएको बताएको छ।
पार्टीं स्थापनाको तेस्रो वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीमा अभिभावकीय स्थान रिक्त भए पनि सरकारको चरित्रले रास्वपालाई थप एकताबद्ध र दृढ बनाएको बताएका हुन्।
‘सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ,’ शुभकामना सन्देशमा भनिएको छ।
रास्वपाले तेस्रो स्थापना दिवस मनाइरहँदा केही जटिल र चुनौतीपूर्ण परिस्थितको सामना गरिरहेको पनि सन्देशमा उल्लेख छ।
‘परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको छ ।हामी कानूनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेका छौं,’ सन्देशमा भनिएको छ।
तीन वर्षअघि आम नागरिकको निराशा, आक्रोश र परिवर्तनको तीव्र आकांक्षालाई राजनीतिक आकार दिँदै रास्वपाको स्थापना भएको र अभियानकै रुपमा पार्टीको विस्तार र सुदृढीकरणमा सक्रिय रहेको सन्देशमा भनिएको छ।
‘ यसको निरन्तरताले जीवन्त र अनुशासित संगठनको रूपमा सुदृढ हुँदै आम नागरिकको आवाजलाई सशक्त बनाउन हामी थप सक्षम हुने छौं । संघीय संसदमा आफ्नो उपस्थितिलाई अझै प्रभावकारी र परिणाममुखी बनाएर सरकारका गलत कामको खबरदारी गर्ने र जनमुखी कानून निर्माणमा निर्णायक भूमिका खेल्ने हाम्रो संकल्पलाई पछिल्ला घटनाक्रमले अझै दृढ बनाएको छ,’ सन्देशमा भनिएको छ।
रास्वपा दशकौंदेखि देशमा जरा गाडेको दलतन्त्रको सिण्डिकेटले सिर्जना गरेका विकृति–विसंगतिको भण्डाफोर अभियानमा पनि रहेको सन्देशमार्फत कार्यवाहक सभापति अर्यालले भनेका छन्।
‘विधिको शासन र जनमैत्री सेवकको नीतिको अक्षरशः कार्यान्वयनले मात्रै विद्यमानको निराशा र आक्रोश अन्त्य गर्नेछ भन्नेमा हामी विश्वस्त छौं । र, हाम्रो मूल खबरदारी पनि यसैतर्फ केन्द्रित हुनेछ। महंगी, बेरोजगारी, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या लगायत आमनागरिकका जनजीविकाका सवालमा हामी आउँदा दिनमा अझै प्रखर रूपमा प्रस्तुत हुनेछौं । सडकदेखि सदनसम्म जनताको आवाजलाई निरन्तर बुलन्द बनाइरहने छौं,’ विज्ञप्तिमा भनिएको छ।
रास्वपाले पार्टी स्थापनासँगै रास्वपाले गरेको संकल्प पूरा गर्नेतर्फ एकाकार हुन आम समुदायलाई आह्वान पनि गरेको छ।
‘यो यात्रामा अनेकौं बाधा र चुनौति आउनेछन् भन्नेमा हामी सचेत छौं । तर, आम नागरिकको अटुट विश्वास र समर्थन नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो । त्यही शक्ति एकीकृत गर्दै आउनुहोस्, स्थापना दिवसको अवसरमा रास्वपाको नेतृत्वमा सबै मिलेर एक विकसित, सुशासित र समृद्ध नेपाल निर्माण गर्ने संकल्पलाई थप मजबुद बनाऔं,’ विज्ञप्तिमा भनिएको छ।