सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका छन्।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ।
‘सभामुख देवराज घिमिरेले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरूप बदल्न आग्रह गर्नुभएको छ,’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गरेको र आफ्नो विरोध जारी रहने जानकारी दिएको अधिकारीले बताए।
रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको अधिकारीको भनाइ छ।
प्रश्नोत्तरका लागि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बानेश्वर प्रस्थान गरिसकेका छन्।
सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राख्ने वातावरण बनाउन आग्रह गरेको अधिकारीले बताए।