दीपक थापा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बनेको एक महिना भएको छ।
प्रहरी संगठनको प्रमुख थापाले प्रहरी सेवामै २९ वर्ष बिताइसकेका छन्।
आइजिपी सिफारिस र छनोटलाई लिएर प्राय विवाद देखिने गर्छ। यसपटक थापा निर्विवाद आइजिपी बनेका थिए। उनको कार्यकाल लामो छैन। उनी आउने भदौ १९ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन्।
प्रहरीमा ३० वर्षे सेवा अवधिलाई हटाउनु उपयुक्त हुने बहस चल्दै आएको छ। त्यसअनुसार अहिले छलफलमै रहेको संघीय प्रहरी विधेयकले ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव पनि गरेको छ।
यसअघि बसन्तबहादुर कुँवर आइजिपी हुँदा सरकारले प्रहरी विधेयकलाई सदनमा पठाएको थियो। सो विधेयक अहिले दफावार छलफलका लागि राज्य व्यवस्था समिति छ। विधेयकले कहिले ऐनको रूप लिन्छ यकिन छैन।
त्यसैले आगामी भदौमै नेपाल प्रहरीमा फेरि नयाँ प्रमुख बनाउनुपर्नेछ।
बिहीबार मात्रै गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस सचिवालयले ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सूची निकालेको छ।
कुँवरसहित ८ जना वरिष्ठ अधिकृतहरू चैत ४ गते अवकाशमा गएसँगै ६ वटा एआइजीको पद रिक्त अवस्थामा थियो। एक महिनापछि सचिवालयले ६ जनाको नाम सिफारिस गरेको हो।
उक्त सिफारिसको पहिलो नम्बरमा चन्द्रकुँवर खापुङ, दोस्रो नम्बरमा लालमणि आचार्य र तेस्रोमा कृष्णहरि शर्मा पोखरेल छन्। उनीहरू २०५२ कात्तिक २७ नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट भर्ना भएका थिए।
त्यस्तै २०५४ चैत १८मा भर्ना भएका दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसी पनि बढुवा सिफारिस भएका छन्।
प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण २०५२ ब्याचका आचार्यले जेठ ११मा र पोखरेलले भदौ १५मा अवकास पाउँदैछन्।
२०२७ मा जन्मिएका खापुङ भने भदौमा हुने नयाँ नेतृत्व चयनका लागि बलियो दाबेदार हुनेछन्। यद्यपि खापुङसँगै बढुवा भएका कार्की, अधिकारी र केसी पनि दाबी गर्न सक्नेछन्।
प्रहरी नियमावली अनुसार प्रहरीको नेतृत्व जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफू भन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षकको पदमा बढुवा गर्नुपर्ने उल्लेख छ।
जेष्ठताको आधारमा २०५२ को ब्याचबाटै खापुङलाई आइजिपी चुन्ने सम्भावना छ। खापुङ आइजिपी बनेमा भने उनी जम्मा करिब तीन महिनाका लागि मात्रै बन्नेछन्। उनी पनि ३० वर्षे सेवा हदकै कारणले मंसिर २३ गतेसम्म प्रमुख हुनेछन्।
यस्तै उनको अवकासपछि भने अहिले एआइजीमा बढुवा भएकाहरू र पछि हुने एआइजीहरूबीच प्रतिस्पर्धा हुनेछ। यसरी मंसिरसम्ममा नेपाल प्रहरीमा तीन जना आइजिपीले नियुक्ति पाउनेछन्।
२०५४ चैत १८ गते प्रहरीमा प्रवेश गरेका दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसीले ३३औं आइजिपीका लागि दाबेदार रहनेछन्। त्यतिञ्जेल रिक्त हुने एआइजी पदमा रहनेले पनि प्रतिस्पर्धा गर्नेछन्।
राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा २०५३ पुस ५ गते आएकाहरू एआइजीका लागि प्रबल दाबेदार हुनेछन्।
सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदीहरू पनि यही पाली एआइजीमा बढुवा हुने लाइनमा थिए। तर उनीहरू यसपटकको बढुवामा नपरेका हुन्।
३० वर्षे उमेर हदका कारण आइजिपी छोटो समयमै अवकाशमा जाने हुँदा सरकारलाई एक वर्षभित्रमा तीन जना आइजिपी नियुक्त गर्नुपर्ने अवस्था छ।