पोखरा महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खुलाइएको छ।
महानगरमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधीले सोमबार लगाएको ताला ३ बुँदे सहमति भएपछि खोलिएको मेयर धनराज आचार्यले जानकारी दिए।
उनका अनुसार गत मंसिर २३ गते बसेको विशेष नगरसभाले गरेका सम्पूर्ण निर्णय अक्षरंश कार्यान्वयन गर्ने, महानगरको सुशासन र समृद्धिका लागि जनप्रतिनिधी र कर्मचारी एकजुट भएर अघि बढ्ने, अहिले जारी १६ औं नगरसभामार्फत वडा कार्यालय, महाशाखा र शाखामा विनियोजित बजेट शीर्षकान्तर र रकमान्तर हुन नसकेर कार्यान्वयन हुन नसकेका योजनाका रकम रकमान्तर र शीर्षकान्तर गर्ने र जारी नगरसभा माघ ११ गते दिउँसो १ बजेका लािग बोलाउने सहमति भएको छ।
उक्त सहमति भएसँगै मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराम चौलागाइको कार्यकक्षमा लगाएको ताला खोलिएको मेयर आचार्यले बताए। गत सोमबार एमालेका जनप्रतिनिधीले नगरसभा बहिष्कार गरेपछि कांग्रेसले कार्यकक्षमा ताला लगाएका थिए।
मेयर आचार्यले एमालेका जनप्रतिनिधीसँग पनि सहमतिका लागि आज दिउँसो छलफल हुने बताए। एमालेले पनि विशेष नगरसभाका निर्णय अक्षरंश कार्यान्वयन नगरेको भन्दै नगरसभा बहिष्कार गरेका थिए। विशेष नगरसभाले करारका कर्मचारीलाई थप २ महिनाको तलब दिएर बिदा दिने र कार्यालयलाई आवश्यक कर्मचारी लोकसेवा आयोगमार्फत माग गर्ने लगायत निर्णय गरेका थिए।
उक्त निर्णय अक्षरश लागु नभएको, कसैलाई हटाउने र कसैलाई राख्न खोजिएको, रकमान्तर र शीर्षकान्तर गर्न खोजिएको बजेटको शीर्षक र नया योजनाको नाम नदिएको लगायत माग राखेर एमालेले नगरसभा बहिष्कार गरेको थियो।
नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले माघ १० गतेका लागि बोलाइएको बैठक एजेण्डामा छलफल गर्न समय नपुग्ने भएकाले ११ गते बोलाउन सहमति गरेको बताए।
नगरपालिका विधिसम्मत चल्नुपर्ने र नगरसभाले गरेका सम्पूर्ण निर्णय अक्षरंश कार्यान्व्यन गर्न आफुहरुले ताला लगाउनुपरेको उनको भनाइ छ।
‘नगरसभाका निर्णय लागु गर्न मेयर सहमत हुनुभएको छ, सहमति भएसँगै हामीले ताला खोलेका छौं,’ उनले भने, ‘महानगर विधिसम्मत चलेन भने फेरी पनि आन्दोलन गर्नुपर्ने हुन्छ।’