सरकारले सल्लाह गरेर नै अध्यादेशहरू ल्याएको नेपाली कांग्रेसले बताएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संसदीय दल कार्यसमिति र पार्टीबाट सरकारमा सहभागी १० मन्त्री तथा दुई राज्यमन्त्रीसहितको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सहमतिमै अध्यादेशहरू ल्याइएको बताएका हुन्।
‘अध्यादेशका विषयको कुरा पनि आएको छ, सल्लाह गरेर नै अध्यादेश ल्याइएको हो, आर्थिक सुधार र सुशासनका पक्षमा सरकारले काम गर्न पनि अध्यादेश ल्याउन जरूरी थियो,’ उनले भने, ‘तत्काल अध्यादेश ल्याएर काम नगर्ने हो भने सरकारले केही गर्न सकेन भन्ने सन्देश जनतामा जाने भयो, त्यसैले काम गर्नकै लागि सरकारले अध्यादेश ल्याएको हो।’
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा अध्यादेश जारी गरेका थिए। कांग्रेसकै कतिपय नेताहरूले अध्यादेशको विरोध गरिरहेका बेला पार्टीले भने सल्लाहमै सरकारले अध्यादेश ल्याएको प्रष्ट पारेको छ।
अध्यादेशलाई तत्काल अध्यादेश ल्याएर कार्यान्वयन प्रक्रियामा लैजने र संसद खुलेपछि प्रतिस्थापन विधेयकबाट कानुनी रूप दिने निर्णय पनि भएको उनको भनाइ छ।
यो पनि: मन्त्रीहरूलाई कांग्रेसले भन्यो- सातामा दुई दिन पार्टी कार्यालय पुग्नू