राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले ठूला दलका नेताहरू कोही पनि नजोगिने बताएका छन्।
सुनसरीको इटहरीमा शनिबार राप्रपा कोशी प्रदेश समितिले गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अहिले रास्वपा सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको छ, यो हतियार नरोकिने र रोकिन हुन्न।’
उनले सबै दलका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र सुरू बरू आफैबाट गर्न तयार रहेको लिङ्देनको भनाइ छ।
अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन् संरक्षण गरेको दाबी गरेका थिए। उनले राजासहित प्रजातन्त्र र हिन्दुराष्ट्र अपरिहार्य भएको बताएका थिए।
सोही कार्यक्रममा बोल्दै राप्रपाका निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको बताए।
प्रजातान्त्रिक दलहरूको नाममा प्रजातन्त्र मास्ने काम भएको उनको दाबी थियो।
प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपा जनताको पक्षमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका थिए।
विरोध सभामा सहभागी हुन विभिन्न जिल्लाबाट नेता कार्यकर्ता इटहरी भेला भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।
भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन विरोध सभा गरेको उनले बताए।