तपाईंलाई थाहा छ, संसारमा आजबाट जन्मिने बच्चाहरूलाई नयाँ पुस्ताको नयाँ नाम दिइँदैछ।
सन् २०२५ जनवरी १ देखि जन्मिने नयाँ पुस्ताको नाम रहनेछ 'बिटा जेनेरेसन', छोटकरीमा जेन-बिटा।
सन् २०३९ को अन्तिमसम्म, अर्थात् अबको १४ वर्षसम्म जन्मिनेहरूले यही नाम पाउनेछन्। त्यसपछि, सन् २०४० देखि फेरि अर्को पुस्ता सुरू हुनेछ।
सामाजिक अध्येता तथा जनसांख्यिक विश्लेषक मार्क म्याक्रिन्डलले यो पुस्तालाई जेन-बिटा नाम दिएका हुन्। मार्क तिनै अध्येता हुन् जसले यसअघिका दुई पुस्ताको पनि नामकरणमा योगदान पुर्याएका थिए।
उनले जेन-बिटा केटाकेटीले कुल जनसंख्याको १६ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरेका छन्।
'पूर्ण रूपमा स्वचालित यातायात साधन, लगाउने मिल्ने स्वास्थ्य उपकरण र प्रविधि, भर्चुअल वातावरणलाई सामान्य दैनिक जीवनका रूपमा प्रयोग गर्ने पहिलो पुस्ता जेन-बिटा हुन सक्छ,' मार्कले भनेका छन्।
यो पुस्ताले आधुनिक दुनियाँसँगै जलवायु परिवर्तन र बदलिँदो सामाजिक मूल्य-मान्यताका चुनौती पनि सामना गर्नेछ।
जेन-बिटाको सुरूआतसँगै यसअघिको पुस्ता जेन-अल्फाको विकासक्रम रोकिएको छ। जेन-अल्फा सन् २०१० देखि सन् २०२४ सम्म जन्मिएको पुस्ता हो।
'जेन-अल्फाले स्मार्ट प्रविधि र एआईको उदय भएको देख्न पायो। अब जेन-बिटाले यसकै युगमा बाँच्न पाउनेछ। उनीहरूको दैनिक जीवनमा यी सबै सामान्य मानिनेछन्,' मार्क म्याक्रिन्डलले भनेका छन्।
जेन-बिटा नाम मार्कले जेन-अल्फा जस्तै ग्रीक व्यञ्जन वर्ण (अल्फाबेट) बाट लिएका हुन्। ग्रीक व्यञ्जन वर्णमा २४ वटा अक्षर हुन्छन् जसको पहिलो अक्षर अल्फा हो भने दोस्रो बिटा हो।
मानव इतिहासमा नयाँ पुस्ताको सुरूआत भएको भन्दै सन् २०१० पछि जन्मेकाहरूलाई अल्फा नाम दिइएको थियो। अहिले त्यसैलाई निरन्तरता दिएर बिटा नाम राखिएको हो।
जेन-अल्फा अगाडि, सन् १९९७ देखि सन् २००९ सम्म जन्मिएकालाई जेन-जी (जेड) भनिन्छ।
त्यसअघि, सन् १९८१ देखि १९९६ सम्म जन्मेकालाई मिलेनियल्स वा जेन-वाई भनिन्छ।
सन् १९६५ देखि १९८० सम्मकालाई जेन-एक्स भनिन्छ।
सन् १९४६ देखि १९६४ सम्मकालाई बेबी बुमर्स भनिन्छ। यो पुस्ता दोस्रो विश्वयुद्ध सकिएपछिको हो। युद्ध सकिएपछि जन्मदर उच्च भएको थियो। त्यसैले यो अवधिमा जन्मिएकालाई बेबी बुमर्स भनिएको हो। मिलेनियल्सपछि यही पुस्ताको जनसंख्या सबभन्दा धेरै छ। बेबी बुमर्स नामकरणपछि नै पुस्ताहरूको नामले समाजमा व्यापक स्वीकार्यता र चर्चा पाएको पनि मानिन्छ।
सन् १९२८ देखि १९४५ सम्मकालाई साइलेन्ट जेनेरेसन भनिन्छ। कोलोराडो राज्यको जनसांख्यिकीय कार्यालयका अनुसार, चरम आर्थिक मन्दी र दोस्रो विश्वयुद्धको समय बाल्यकाल बिताएकाले उनीहरूलाई अनुशासन र भावनायुक्त नागरिक मानिन्छ। उनीहरूका मूल्य-मान्यता युद्धपछि स्थिरताको आवश्यकताबाट निर्माण भएकाले उनीहरू जीवनप्रति शान्त देखिन्थे। त्यसैले उनीहरूलाई साइलेन्ट (शान्त) जेनेरेसन नाम दिइएको हो।
त्यस्तै, करिब सन् १९०० देखि १९२७ सम्म जन्मेकालाई ग्रेटेस्ट जेनेरेसन भनिन्छ। यो नामकरण हिसाबले सबभन्दा पुरानो पुस्ता हो।
यसरी मान्छेको जन्ममिति तोक्ने र त्यस आधारमा पुस्ताको नामकरण गर्ने कामले सर्वव्यापी औपचारिकता पाएको छैन। कुन मितिदेखि कुन मितिसम्मलाई कुन पुस्ता भन्नेमा कहीँ कहीँ भिन्नता पाइन्छ।
पुस्ताको नामकरण गर्ने कामको सुरूआत भने उपन्यासकार तथा कवि गरट्रुड स्टेनले गरेको मानिन्छ। पहिलो विश्वयुद्ध भोगेकाहरूलाई उनले 'लस्ट जेनेरेसन' नाम दिएकी थिइन्।
उमेरका आधारमा पुस्ताको नाम राख्ने चलनलाई चर्चामा ल्याउने श्रेय भने नील हाउ र विलियम स्ट्राउस जस्ता अध्येतालाई जान्छ। उनीहरूले ऐतिहासिक घटना र सांस्कृतिक चालचलनका आधारमा विभिन्न पुस्ताको नामकरण सुरू गरेका थिए।
यी दुईले 'जेनेरेसन्स' नामको किताब लेखेका थिए। सो किताबमा उनीहरूले हरेक पुस्ताको इतिहास लेखेका थिए। किताब लेख्ने क्रममा उनीहरूले हरेक पुस्ताको अनुभव, भोगाइ, चालचलन, व्यवहार र सोच्ने तरिका बेग्लै भएको थाहा पाए। त्यसपछि उनीहरूलाई यसमा झन् धेरै चासो भयो र उनीहरूले निरन्तर यसबारे अध्ययन, अनुसन्धान गरे। किताबहरू लेखे।
नील हाउ र विलियम स्ट्राउसपछि अरू अध्येताले पनि पुस्ताको नाम प्रयोग गर्ने क्रम जारी राखे।
जस्तै, जेनेरेसन एक्स नामको चर्चा बढ्नुका पछाडि लेखक डगलस कुपल्यान्डको भूमिका छ। उनले यही नाममा उपन्यास लेखेका थिए। उक्त उपन्यासमा उनले बेबी बुमर्स पुस्तापछि जन्मिएको एक विशेष पुस्ताको अनुभवहरूबारे लेखेका थिए।
यसरी नामकरण हिसाबले अब आठौं पुस्ता जेन-बिटाको सुरूआत भएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)