कर्म कल्चर
कसले के कुरा काट्यो कुन्नि, मेरो अगाडि मुडामा बसेकी महिलाले चर्को स्वर गरिन्।
हामी चढेको लोकल भ्यान गाउँले सडकको घुम्ती पार गर्दै राजमार्गतिर ध्यान मोड्दै थियो, अटेसमटेस यात्रुहरूमाझ म ती महिलाको मुद्दा बुझ्न खोज्दै थिएँ।
'त्यसो भन्न हुन्न,' उनले थपिन्।
ड्राइभरको भर हुँदैन, बानीबेहोरा यस्तै उस्तै, तिनका छोरा पनि ड्राइभर नै हुन्छन् भन्ने खाले कसैले छुसी कुरा गर्दै थियो, ती महिलालाई चस्का पर्यो।
तिनको परिवारमा कोही ड्राइभर भएर होइन। उनले भनिन्, 'यस्तो कुरा सुन्दा मलाई पुरानो चोट बल्झिन्छ।'
मेरो टोल-छिमेकमा मेला पर्म गर्ने/भर्ने चलन हुँदाकै बेलाको घटना रहेछ। हलो जोत्नु सामान्य थियो। हरेकजसो परिवारमा गाईगोठ र हलगोरू घरको शोभा नै मानिन्थे। उनका पतिले सानैदेखि घरको कामधन्दा र गोठालो गर्दा गर्दै स्कुल जान मन गरेनन्। बरू गोरू नारेर खेत जोत्न जाने रूचि देखाए। किशोर उमेरमै उनी एउटा किसान परिवारको हुने बिरूवाका चिल्ला पात बने।
विवाह भएर छोराछोरी जन्मेपछि उनी त जोत्दै नै थिए, उनका छोरा पनि सानोमै हलो समात्ने देखासिकी गर्ने भए। एकपल्ट यी महिलाको कान पर्ने गरी कसैले प्वाक्क मुख खोलेछन्, 'हलो जोत्नेको छोरो हली नै हुने भयो कि क्या हो?'
परेन त बित्यास्?
'मेरो मनमा यस्तो गड्यो नि,' उनले भनिन्, 'छोरा आफै पढेर कलेज गयो। विदेश पनि गयो। फर्केर आफ्नो काम गर्दैछ। छोरी नै पढेर विदेश गई। तैपनि त्यो वचन अहिलेसम्म बिर्सिन सकेकी छैन।'
'कसले त्यसरी भनेको?' मैले सोधेँ।
'नचिनेको, टाढाको मान्छेले भन्या भा बरू केही लाग्थेन,' उनले भनिन्, 'नातेदारको बोली गड्ने!'
भ्यान गाउँबाट बजार पुगुञ्जेल यात्रुहरूबीच विभिन्न पेसा-व्यवसाय गर्नेका विषयवस्तुभन्दा विदेश जानेबारे युवा कुराकानीले ध्यान खिच्ने गर्छ। हलोबारे कसले थप चर्चा गरोस्? गर्दा पनि कसले कान थापोस्?
हलोको कुरा नै पनि बिरानो र त्याज्य मान्नेहरू बढी भइसके। आधुनिक हुनुपर्यो, ट्र्याक्टर किन्नुपर्यो, व्यावसायिक हुनुपर्यो भन्नेहरू बग्रेल्ती भेटिन्छन्।
खेतीपातीलाई पशुपालनबाट अलग्याएर हेर्न सिकाएकाले हाम्रा आँखामा विकास, आधुनिकता र व्यावसायिकताको एकांगी दृष्टि बसेको छ। त्यही कारण कृषि आफैमा अन्यौलमा फसेको छ। कृषि श्रमिकको अभाव गहिरिँदो छ। माटो संकटमा परेको छ।
हलो जोत्नु कुनै काइदाको काम किन जनिएन? किन देशमा आज कोही योग्य हली हुन्छु भन्न हियाउँछ? हलीलाई किन यति हेलाँ? हलीलाई किन हेपाइ? हली, जो हाम्रो अन्न उब्जाउने आधार खडा गर्छ र सबभन्दा बढी होचो-अर्घेलो किन हुन्छ?
हलो परम्परागत कृषिको आधारभूत अंग भएर पनि अन्यायको एउटा इतिहास हो। अलोकतान्त्रिक युगको श्रम शोषणको यो एउटा माध्यम पनि थियो।
हली खरिद-बिक्री हुन्थे। अर्कैको घर बस्ने, त्यहाँबाट बेचिएर पनि अर्को घर सरिनसक्थे। हली बस्ने भनेको अभाव, दरिद्रता र उपायविहिनताको अर्को नाम पनि थियो।
अहिलेसम्म त यस्तो छ, सामाजिक सञ्जाल नै हेर्यौं भने पनि हलीलाई हेलाँ गर्ने गरिएको हामी पाउँछौं। आधुनिक भनिएकाहरूका गालीको भाषा नै फलानो ढिस्कानोको हली हो भन्ने खाले देखिन्छ। हलो जनजीवनमा परम्पराको चिनारी हुँदाहुँदै दुत्कार्ने विम्ब किन बन्यो?
मध्य पहाडमा बढी जग्गा हुनेमध्ये बाहुनले जोत्न हुन्न भन्ने र क्षत्रीले सकेसम्म अरूलाई नै हली खोज्ने सामाजिक मान्यता थियो। सात सालको क्रान्तिताक छिमेकी लम्जुङ, दुराडाँडामा बाहुनले हलो जोतेर आन्दोलन पनि गरे। परिवर्तनको शंख फुक्ने माध्यम त हलो बन्यो। राजनीतिक परिवर्तनमा सीमित हुन पुग्दा न्याय र समानतामा आधारित आर्थिक-सामाजिक परिवर्तन सुशुप्त नै रह्यो।
दुर्गम भेगतिर पुरूषको अभावमा महिलाले अनौ समाउनुपरेका समाचार अहिले पनि आउँछन्। तिनको पेटबोलीमा महिलाले जोत्नु हुन्न भन्ने सोच उल्लेख हुने गर्छ। हलोलाई बाध्यता, अविकास, पछौटेपनको पर्यायका रूपमा लिने मनोविज्ञान व्याप्त छ।
लोकतन्त्र स्थापनापछि पनि श्रम संस्कार र सम्मान खस्किने क्रम रोकिएन। उँचनिचले अझ बढावा पाउने गरी खुला बजारलाई आफ्नो स्वार्थमा कज्याउन, पहुँच र प्रभावका आधारमा शक्ति संरचना बनाउन सक्ने पेसा र सीपले हैकम पाए।
हलीजस्ता आधारभूत सीप इतिहासको बलियो भेलमा हेलिने मात्र भए!
बाबुको बिँडो धान्ने भयो, आमाको खुबी छोरीमा सर्यो भन्नेजस्ता सराहना सहरिया देखिने सीपमा मात्र बढ्ने, ग्रामीण देखिने सीपमा घट्ने क्रम तीव्र भयो। हाम्रो ठूलो सामाजिक रोगको उपचार नखोजी हामी गाउँ सिध्याउने, गाउँको आत्मनिर्भर र स्वावलम्बी श्रम आधार भत्काउने विकासको राजनीति टुलुटुलु हेर्दै गयौं।
श्रमबारे इतिहासको अन्याय सच्याउने सोचको अभाव आधुनिक नेपालको जग बलियो नहुनुको अहम् कारण हो। श्रम र सीपलाई मर्यादित गर्ने संस्कार स्थापित नभएको समाजबाट बाहिरिएर युवाहरू त्यस्तै कामका लागि बिदेसिने त हुन्।
हाम्रो राष्ट्रिय विमर्शको स्तर पनि विमानस्थलको विदाइ भीड हेरेर बिलौना गर्ने खालको छ। देशभित्र कोही आफ्नो पेसामा किन टिक्न सकिरहेको छैन भन्ने घोत्लिने हैसियतको छैन।
हलो कुन गतिमा हराउँदै गएको छ भन्ने उदाहरण हाम्रै वडामा पाइन्छ। कृषि पेसालाई कसरी टेवा दिन सकिएला भन्ने गम्दा तनहुँ, व्यास-११ को अघिल्लो कार्यसमितिले किसानलाई हलो कोसेली दिने निर्णय गरेछ।
'मेरो कार्यकालको सुरूतिर त्यसरी बोलाउँदा चार सय बढी हलो वितरण गरियो,' तत्कालीन वडाध्यक्ष नीरबहादुर खड्का सम्झिन्छन्, 'कार्यकाल सकिने बेला ती किसानलाई सम्मान गर्न बोलाउँदा आधाभन्दा कम भए।'
अहिले त झन् कति घटिसके होलान्?
टोलपिच्छे एकाध हलगोरू मात्र रहन पुगेको अवस्था चित्रण गर्न वडा सदस्य रामकृष्ण अधिकारी भन्छन्, 'म औंला भाँचेरै भन्न सक्छु नि!'
दिनको दुई हजार रूपैयाँ ज्याला तथा खाजा-खाना खुवाउँदा पनि जोत्ने याम हली हानथाप हुन थालेकामा हाम्रा छिमेकी ८८ वर्षका झलकबहादुर अधिकारी भन्छन्, 'पहिला हलीलाई अन्याय थियो, अहिले हामीलाई!'
हली हराउने कारण जनशक्ति अभाव मात्र होइन, गोरूकै कारण पनि हो।
गाई नै नभएपछि गोरू कहाँ? बहर कहाँ? बाच्छा कहाँ?
***