डडेल्धुराको परशुराम नगरपालिकाले आगामी पुस १५ र १६ गते ‘पहिलो सुदूरपश्चिम नगरपालिका मेयर फोरम २०८१’ आयोजना गर्ने भएको छ।
परशुराम धाममा आयोजना हुने दुईदिने सम्मेलनमा सुदूरपश्चिम प्रदेशका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरूको सहभागिता रहनेछ।
‘सुदूरपश्चिम प्रदेशमा अवसर र चुनौती’ भन्ने मुख्य विषयमा केन्द्रित यो सम्मेलनले स्थानीय तहका नेताहरूलाई विकासका अवसर र चुनौतिहरूबारे छलफल गर्न, विचार आदानप्रदान गर्न, र सहकार्यका रणनीति तय गर्न मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।
परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीकाअनुसार यस सम्मेलनले प्रदेशका स्थानीय तहहरूबीच आपसी सहयोग र समन्वयलाई सुदृढ गर्दै स्थानीय सरकारहरूको आवाजलाई राष्ट्रिय तथा प्रादेशिक तहसम्म पुर्याउन मद्दत गर्नेछ।
सम्मेलनमा संघीय गृहमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू, स्थानीय सरकार प्रमुख तथा उपप्रमुख, विज्ञहरू, र प्रादेशिक सरोकारवालाहरूको सहभागिता रहनेछ। विभिन्न विषयमा बहस र छलफल गरी सुदूरपश्चिम प्रदेशको दीगो विकासका लागि सहमति र रणनीति निर्माण गर्ने उद्देश्य राखिएको छ।
यो सम्मेलनले सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूलाई एकताबद्ध गर्न, सहकार्यका अवसरहरू सिर्जना गर्न, र भविष्यका लागि दीगो योजना बनाउने महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ।