नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी एक नम्बर पार्टी भएमात्रै देशमा भ्रष्टाचार अन्त्य हुने बताएका छन्।
शनिबार कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी बलियो र एक नम्बरको पार्टी भएमात्रै देशमा सुशासनको नयाँ युग सुरू हुने बताएका हुन्।
उनले माओवादीलाई पहिलो पार्टी बनाउने प्रक्रिया पनि सुरू भइसकेको दाबी गरे। 'अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरू हुनेछ । भ्रष्टाचारीहरूलाई लखेट्ने प्रक्रिया सुरू गरी नै सक्यौं,' उनले भने।
अध्यक्ष प्रचण्डले माओवादी एक नम्बरको पार्टी भएपछि गिरिबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्मका सबै प्रकरणमा संलग्नहरूलाई त्यसै नछाड्ने बताए।
'गिरिबन्धु, यति, ओन्नी, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचारमा संलग्नहरूलाई यसै छाडिने छैन। र यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरूरी छ,' उनले भने।
प्रचण्डले भ्रष्टाचार विरूद्धको आफूले चलाएको अभियानबाट भयभित भएकाहरूले नै अघिल्लो सरकार ढालेको पनि दोहोर्याए।
'अहिलेको सरकार सुशासनका विरूद्ध र भ्रष्टाचारका पक्षमा छ। भ्रष्टाचारका विरूद्ध छैन,' उनले भने।
अध्यक्ष प्रचण्डले सरकारको गलत कदम र आफु नेतृत्वको यसअघिको सरकारले गरेको कामका कारण देशैभरि माओवादीमा एकताबद्ध हुने र समायोजन हुनेको लहर चलेको बताए।
'देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको छ । पर्सि म प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापा जाँदै छु। त्यहाँ पनि हजारौं प्रवेश गर्ने तयारी छ,' उनले भने।