काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षको उपचुनावमा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्ने भएका छन्।
मंगलबार रास्वपाको पार्टी कार्यालय चःमतिमा आयोजित पत्रकार सम्मेलनमा पन्तले रास्वपा उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय तुल्याएको जानकारी दिएका हुन्।
‘पछिल्लो राजनीतिका विभिन्न पक्षहरूको विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुनुभएकी रोजिना श्रेष्ठ (चुनाव चिह्न घण्टी) एक सशक्त उम्मेदवार भएको अनुभूति भयो। स्थानीयस्तरमा लामो समय सामाजिक कार्यमा संलग्न भई वडाको बृहत्तर विकासमा समेत योगदान पुर्याउनुभएकी, कानुनमा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएकी, एक सफल व्यवसायी एवं महिला नेताले म लगायत परिवर्तनका पक्षधरहरूको भावना समेटेर काम गर्ने कुरामा म विश्वस्त छु,’ पन्तले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै भने।
रास्वपाको प्रतिबद्धता पत्र र आफ्नो उम्मेदवारीको प्रतिबद्धता समान उद्देश्य प्राप्तिका लागि भएको हुँदा यसको कार्यान्वयनका लागि सहकार्य गर्ने सहमति गरेको उनले बताए।
काठमाडौं महानगरपालिका—१६ मा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। त्यहाँ ११ स्वतन्त्रसहित १८ जना उम्मेदवार प्रतिस्पर्धा थिए। पन्तले निष्क्रिय राखेपछि १७ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।