पछिल्लो दुई दिनमा सुनको मूल्य तोलामा साढे १८ हजार रूपैयाँ घटेको छ। सरकारले सुनमा लगाएको भन्सार महसुल आधा घटाएको र अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य घटेपछि एकैपटक यति धेरै भाउ घटेको हो।
भाउ कम भएसँगै बजारमा सुन अभाव भएको छ। सोमबार काठमाडौंका सुन पसलहरूमा ग्राहकको घुइँचो थियो। सामान्य अवस्थामा भन्दा बढी माग भएकाले धेरै व्यवसायीले सुनको अर्डर समेत लिन नसकेको बताएका छन्।
धेरै ग्राहकले अब सुन कहिले पाइन्छ भनेर चासो दिइरहेका छन्।
हामीले यही प्रश्न व्यवसायीहरूलाई गरेका छौं।
नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्यका अनुसार बजारमा ग्राहकका लागि सुन अझै तीन/चार दिनपछि मात्र उपलब्ध हुनेछ
'माग बढेसँगै हामीले बैंकहरूसँग सुन माग गरेका छौं। अब ३/४ दिनमा आउने छ,' उनले भने।
नेपालमा सुनको वैधानिक आयात वाणिज्य बैंकहरूले मात्रै गर्छन्। पछिल्लो समय वाणिज्य बैंकहरूले गत कात्तिक १२ गते सुन आयात गरेका थिए। नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले अहिले बैंकमा सुन मौज्दात नरहेको बताए।
सोमबारबाट नै व्यवसायीहरूले सुनको माग गरेको उनले प्रतिक्रिया दिएका छन्।
'व्यवसायीहरूबाट हिजैदेखि सुनको माग आएको छ। आयातका लागि प्रक्रिया सुरू भइसक्यो गर्नुपर्ने हुन्छ,' शर्माले भने।