प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग सुझाव माग गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार मध्याह्न छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले सुझाव माग गरेका हुन्।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ। उनले मंसिर १८ गते चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री ओलीको आह्वानमा सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहभागी छन्।
साथै पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, विमला राई पौड्याल, महेन्द्र पाण्डेय, एनपी साउद, ईश्वर पोखरेललगायत उपस्थित छन्।
छलफलमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने उपस्थित छैनन्। सभापति देउवा सोमबार जनकपुर गएकोले सिंहदरबारमा भएको छलफलमा अनुपस्थित रहेका हुन्।
साथै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि गोरखा रहेकोले छलफलमा अनुपस्थित छन्। उनले सामाजिक सञ्जालबाट प्रधानमन्त्री ओलीलाई सुझावहरू दिएका थिए।
छलफलमा परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि सहभागी छिन्।