राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले छिमेकी जिल्ला रोल्पामा एमबिबीएस डाक्टर पठाउने भएको छ।
प्रतिष्ठानले दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने निर्णय गरी एमबिबीएसको पढाइ सुरु गर्न थालेपछि रोल्पाको होलेरीमा एमबिबिएस डाक्टर पठाउने भएको हो।
रोल्पाको होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबीएस चिकित्सक नियुक्त गरेर पठाउने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए।
होलेरीमा एमबिबीएस चिकित्सकको व्यवस्था भएसँगै स्थानीयले विशेषज्ञ सेवा पाउने आशा गरेका छन्।
एमबिबिएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेसँगै होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्यूनिटी आउट रिच सेन्टरको रुपमा रहने गरी चिकित्सक व्यवस्थापन गर्न थालेको हो।
गत असारदेखि होलेरी अस्पतालमा एमबिबीएस चिकित्सक छैनन्। त्यसले गर्दा विरामीले सामान्य उपचारका लागि पनि दाङको घोराही आउनुपर्ने वाध्यता छ।
हाल प्रतिष्ठानमा एमडिजिपीमा दुई जना चिकित्सकले स्नातकोत्तर पढिरहेका छन। तीमध्ये एक जनालाई निकट भविष्यमै रोल्पाका लागि खटाउने तयारी प्रतिष्ठानले गरेको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाँउपालिका होलेरी रोल्पाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भएको छ।
प्रतिष्ठानका रजिष्ट्रार लम्साल र गाँउपालिका अध्यक्ष जनक पुनका बीचमा सहमति भई सम्झौता पुस १ गतेदेखि लागु हुने छ। प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थी र प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्रीको उपस्थितिमा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।