चितवनको कठारकी किसान विनिता चौधरी आफ्नो खेतबारीमा वर्षभरि काम गरेर फलाएको धानको उचित मूल्य पाउँदिन थिइन्। धान किन्न आउनेले जति मोल गर्थे त्यतिमै बेच्नुपर्ने बाध्यता हुन्थ्यो। कहिलेकाहीँ आफ्नै ठाउँमा बिक्री नहुँदा निकै टाढा पनि पुर्याउनुपर्थ्यो।
२०७९ सालमा कठारमै धानमिल खुलेपछि निकै सहज भएको छ। विनिताका अनुसार मिल चलेदेखि दैनिक गुजारा कृषिबाटै भएको छ।
'खेती गरेरै छोरालाई १२ कक्षासम्म पढाइसकेँ। अहिले निकै सजिलो भएको छ,' उनले भनिन्।
मिले खुलेपछि धानले राम्रो मूल्य पाएको छ। भुक्तानी पनि तुरून्तै हुने गरेको छ।
'धान बेच्न टाढा जान पर्दैन। भाडा पनि बचत हुन्छ, समय पनि बचत,' उनले भनिन्, 'मिलले स्थानीय बजारमा चलेको मूल्यभन्दा प्रतिक्विन्टल एक सय रूपैयाँ बढी दिने गरेको छ।'
उनी १७ कट्ठा जमिनमा धान खेती गर्छिन्। पहिले जसरी हातले धान रोप्नु पर्दैन, खेती गर्न पनि सजिलो भएको छ। पहिले हातले धान रोप्दा एक बिघामा १२ हजार रूपैयाँ लाग्थ्यो। मेसिनले रोप्दा पाँच हजारले पुग्छ। अहिले सजिलो र फाइदा भएको उनी बताउँछिन्।
कठारकै अर्की किसान कमला भण्डारीलाई पनि मिल चलेपछि सजिलो भएको छ। आफ्नै ठाउँमा राम्रो मूल्यमा धान बेच्न पाएको उनको भनाइ छ।
पहिले कठारका किसानले पर्सा बजार र वीरेन्द्रनगर बजारसम्म पुर्याएर व्यापारीले तोकेको मूल्यमा बेच्नुपर्थ्यो। उचित मूल्य थिएन।
कमलाका अनुसार मिल नहुँदा प्रतिक्विन्टल बढीमा ३५ सय रूपैयाँ आउँथ्यो। अहिले मिलले प्रतिक्विन्टल ४१ सय रूपैयँसम्म दिने गरेको छ।
'मिलले राम्रो मूल्यमा धान किनिदिन्छ। किनेर खानुपर्ने उपभोक्ताका लागि सहुलियत मूल्यमा चामल बेच्छ। अहिले त निकै सजिलो भएको छ,' उनले भनिन्।
कमला १५ कट्ठा जमिनमा धानखेती गर्छिन्। चैते धान ३५ क्विन्टलसम्म फल्छ। हिउँदे धान २८ क्विन्टलसम्म फल्छ। मेसिनबाट धान रोप्न सुरू भएपछि उत्पादन बढेको छ।
कठारका किसानहरू धेरैजसो मोटा र मसिनो धान रोप्छन्। बजारमा मसिनो धानको चामलको धेरै छ।
कठारमा एसियाली विकास बैंक (एडिबी) को सहयोगमा 'कठार महिला साना किसान सहकारी' ले धान मिल चलाएको हो। ग्रामीण उद्यम कर्जा परियोजना अन्तर्गत उक्त सहकारीले साना किसान लघुवित्त संस्थाबाट दुई करोड रूपैयाँ ऋण लिएर मिल सञ्चालन गरेको हो। मिलले किसानसँग धान किन्छ र चामल बनाएर बेच्छ।
धान मिल खुलेपछि यहाँका किसानले बिचौलिया खोजी गर्नुपरेको छैन। उपभोक्ताहरूले पनि सहुलियत दरमा चामल किन्न पाएका छन्।
सहकारीकी म्यानेजर पुनममाया तिमल्सिनाका अनुसार हाल स्थानीय बजारमा जिरा मसिनो चामलको भाउ प्रतिकिलोको ११० रूपैयाँ छ। कठार महिला साना किसान सहकारीले चलाएको मिलले उपभोक्तालाई ९० रूपैयाँ किलोमै दिने गरेको छ।
पशुपालन गर्ने किसानलाई चाहिने भुस र कनिका पनि बजारको मूल्यभन्दा सहुलियत दरमा दिने गरेको उनले बताइन्।
मिलको वित्तीय व्यवस्थापन लगायतको काम सम्हाल्दै आएकी अनिशा चौधरीले अहिलेको सिजनमा हालसम्म मिलले किसानबाट ८४ लाख रूपैयाँको धान किनेको बताइन्।
मिलले हाल मसिनो धान प्रतिक्विन्टल चार हजार रूपैयाँमा र मोटा धान प्रतिक्विन्टल ३६ सय रूपैयाँमा किन्दै छ। सरकारले तोकेको समर्थन मूल्यभन्दा बढी दिने गरेको अनिशाको भनाइ छ।
उनका अनुसार मिलले चामल, कनिका र भुस सहकारीमार्फत नै बेच्छ। नवलपरासी, धादिङ र मकवानपुरका व्यापारीहरूले पनि लैजाने गरेका छन्। मिलले यो सिजनमा चार करोड रूपैयाँसम्मको धान किन्ने योजना बनाएको छ।
मिलमा हाल २५ र ३० केजीका गरी दैनिक कुल सय बोरासम्म चामल तयार हुन्छ। हाल मसिनो चामल प्रतिकेजी ९० रूपैयाँ र मोटो चामल ६५ देखि ७५ रूपैयाँमा बिक्री भइरहेको छ।
सोना मन्सुली चामलको माग धेरै भएकाले पूर्वी तराईबाट धान किनेर ल्याउने गरेको अनिशाले बताइन्।
'चामलको माग धेरै छ। हामीले माग अनुसार दिन सकेका छैनौं,' उनले भनिन्।
मिल खुलेपछि किसानहरू बिचौलियाको हालीमुहालीबाट मुक्त भएका छन्। पहिले किसानहरूले उधारोमा पनि धान बेच्नुपर्थ्यो। कहिले त पैसा पाउन वर्षदिनसम्म पनि कुर्नुपर्थ्यो। स्थानीय किसानहरूका अनुसार अहिले पनि बिचौलियाहरू खेतमा पुग्न छाडेका छैनन्। मिलले भन्दा बढी मूल्य दिनेर भनेर लोभ देखाउँछन्। धान लगिसकेपछि कुनै न कुनै खोट देखाएर कम मूल्य दिने प्रवृत्ति बिचौलियाहरूमा हुन्छ। तर किसानहरू उनीहरूलाई धान दिँदैनन्।
'किसानहरू ठगिनु परेको छैन, बिचौलियाको भर पर्नुपर्ने बाध्यात्मक अवस्था अन्त्य भएको छ,' महिला साना किसान सहकारीकी अध्यक्ष गीता केसीले भनिन्, 'एडिबीको सहयोगमा सस्तो ब्याजदरमा कर्जा पायौं। किसानलाई सहज हुने गरी मिल चलाएका छौं। ठूलो राहत भएको छ।'
चितवनकै राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा पनि धानमिलले किसानमा खुसी थपेको छ। मिल सञ्चालनपछि बिचौलियाले खाने मोटो रकम किसानकै हातमा पुग्न थालेको छ। उपभोक्ताले पनि सहुलियत मूल्यमा गुणस्तरीय चामल खान पाएका छन्।
त्यहाँको साना किसान कृषि सहकारीले बिउबिजन केन्द्र पनि सञ्चालन गरेको छ जहाँ धान, गहुँ तोरी लगायत बालीको बिउ बिक्री हुन्छ। वीरेन्द्रनगरको मिल २०७६ सालमा स्थापना भएको हो।
चार करोड रूपैयाँ लगानीमा स्थापना भएको मिलमा ९०० टन धानचामल भण्डारण क्षमता छ। सहकारीका म्यानेजर पुष्पराज रानाका अनुसार मिल स्थापना गर्न एडिबीको ग्रामीण उद्यम कर्जा अन्तर्गत साढे एक करोड रूपैयाँ सहुलियत ऋण प्राप्त भएको थियो।
यो मिलले राप्ती नगरपालिकाका किसानको धान किन्छ। त्यहाँका किसान धान बेच्न कतै भौंतारिनु नपर्ने स्थानीय किसान देवी शर्मा फुयाँलको भनाइ छ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण खेतीमा असर परेको किसानहरूको गुनासो छ। पछिल्ला दुई वर्ष धानमा फूल लागेका बेला भारी वर्षा भएर उत्पादन घटेको उनीहरूले बताएका छन्। सरकार र दातृ निकायहरूले जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव न्यूनीकरणका लागि काम गर्नुपर्ने किसानहरूको माग छ।
एडिबीका कन्ट्री डाइरेक्टर आर्नो कोश्वाका अनुसार एडिबीले नेपालको कृषि क्षेत्रमा सहयोग पुर्याउने काम गरिरहेको छ। एडिबीको सहयोगले चितवनका किसानलाई थोरै भए पनि राहत पुगेको छ।
किसानमा ज्ञान, सिप र पुँजी पुर्याउन सक्दो सहयोग गर्ने उनले बताए। कृषिलाई रोजगारीसँग जोडेर अगाडि बढ्न सके मुलुकको अर्थतन्त्र विकासमा ठूलो योगदान पुग्ने उनको भनाइ छ।
साना किसान लघुवित्त संस्थाको मध्यस्थतामा एडिबीले चितवनमा ग्रामीण कृषकहरूलाई सहुलियतपूर्ण कर्जा दिने गरेको छ। कृषि आधुनिकीकरणका लागि प्राविधिक तथा आर्थिक सहयोग पनि गर्दै आएको छ। संस्थाका उपकार्यकारी प्रमुख नवराज सिम्खडाले किसानहरूको वित्तीय पहुँच विस्तार गरी कृषिमा प्रोत्साहन गर्ने र विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले काम भइरहेको बताए।
एडिबीले सन् २०१९ देखि ग्रामीण उद्यम कर्जा परियोजना चलाएको छ। लगभग ६ अर्ब रूपैयाँको उक्त परियोजना अन्तर्गत संस्थागत व्यवसायका लागि दुई करोडसम्म र व्यक्तिगतमा ५० लाख रूपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्राप्त हुन्छ।