मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि उपनिर्वाचन हुँदैछ।
जिल्ला समन्वय समिति ओखलढुंगा र कैलाली तथा केही वडामा निर्विरोध भएको छ भने बाँकी ठाउँमा उपनिर्वाचन हुँदैछ।
मंसिर २ गते उम्मेदवारी दर्तासँगै दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू मत माग्न घरदैलोमा पुगिरहेका छन्।
यसैक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रौतहट पुगेका छन्। चुनावी घरदैलोका लागि महामन्त्री शर्मा बिहीबार रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ मा छन्।
उनले त्यहाँ चुनावी घरदैलो गर्दै कोण सभालाई सम्बोधन गरेका छन्।
‘यो देशमा कांग्रेस नभएको भए राणा शासन र राजसंस्थाको अन्त्य हुने थिएन,’ स्थानीय तह उपनिर्वाचनमा कांग्रेसबाट केन्द्रीय संयोजन समितिका संयोजकसमेत रहेका शर्माले भने, ‘कांग्रेसले गरेको आन्दोलनकै कारण तानाशाही राणा शासन र राजतन्त्र ढलेर प्रजातन्त्र, गणतन्त्र स्थापना भएको हो।’
उनले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन पनि आग्रह गरेका छन्। मधेससँग कांग्रेसको विशेष सम्बन्ध रहेको उल्लेख गरेका महामन्त्री शर्माले मधेसको विकास र समृद्धिका लागि कांग्रेसका उम्मेदवारहरूलाई उपनिर्वाचनमा विजयी बनाउनुपर्ने बताएका हुन्।
उनले देशमा देखिएका समस्याहरू समाधानका लागि पनि कांग्रेसलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए।
रौतहटको इशनाथ नगरपालिका -७ को वडा अध्यक्ष पदका लागि कांग्रेसबाट शेख अब्दुल खलिक उम्मेदवार छन्।