नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मत भिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरू थप एकताबद्ध भएर सामूहिक हित र मानव समद्धिका लागि लाग्नुपर्ने बताएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोस्रो ‘ग्लोबल साउथ थिंक ट्यांक डाइलग’ को ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विश्वको ८५ प्रतिशत जनसंख्या ओगटेको ग्लोबल साउथका जनताहरूको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ४० प्रतिशत मात्र हिस्सा रहेको वर्तमान अवस्थालाई परिवर्तन गरेर गरिबको क्षमता विकासमा सामूहिक योगदान आवश्यकता रहेको पनि उनले बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मानवीय समान विकासका लागि विश्वका विभिन्न सभ्यताको आदान–प्रदान आवश्यक रहेको चर्चा गर्दै यसले सबै सभ्यतालाई थप विकास गर्न सहयोग गर्ने धारणा पनि व्यक्त गरे।
उनले प्रकृतिले धेरै स्रोतहरूको उपहार दिएको नेपालमा रहेका प्राकृतिक स्रोतहरूलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीहरूले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सहयोग गर्न आग्रह गरे।
उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सरकार अग्रसर रहेको र यसमा चीन लगायतका मित्रराष्टको महत्वपूर्ण सहयोग हुने आशा व्यक्त गरे।
चिनिया कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमालेको पन्ध्र सदस्यीय प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा छ।