नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा हुन लागेको निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ।
कीर्तिपुर नगर समितिको सोमबारको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नगरपालिकाको मेयरमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार तोकेको हो।
पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका इन्जार्ज अग्निप्रसाद सापकोटाको उपस्थितिमा महर्जनलाई सर्वसम्मतले उम्मेदवार चयन गरेको केन्द्रीय सदस्य सूर्य सुवेदी 'पथिक'ले जानकारी दिए।
कीर्तिपुरमा मेयर र दुई वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। माओवादीले वडा नम्बर १ मा अष्टमान महर्जन र वडा नम्बर ४ मा नारायण विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसअघि नेकपा (एमाले)ले पनि आफ्नो उम्मेदवार घोषणा गरिसकेको छ। एमालेले केन्द्रीय सदस्य रहेका सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको हो।
नेपाली कांग्रेसले भने उम्मेदवार घोषणा गरिसकेको छैन। उम्मेदवारको नाम सिफारिस गरेर बागमती प्रदेश कार्यसमितिमा पठाइएको कांग्रेसले जनाएको छ।
साथै राप्रपाले ध्रुव महर्जनलाई कीर्तिपुरको मेयर उम्मेदवार बनाउने घोषणा गरिसकेको छ।
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको कार्यक्रम छ।