गर्न चाह्यो भने बाल्यकालको रूचिलाई पनि राम्रो व्यवसाय बनाउन सकिन्छ। यसको उदाहरण हुन् काठमाडौंका नेहा श्रेष्ठ र रक्षा श्रेष्ठ।
बाल्यकालदेखि नै यी दिदीबहिनीको रूचि कला र सिर्जनामा थियो।
नेहा फुर्सदमा कागजका फूल बनाउँथिन्। त्यसमा पेन्सिलको डाँठ राखेर 'रोज पेन्सिल' बनाउँथिन् र स्कुलका साथीहरूलाई बेच्थिन्।
साथीहरू रोज पेन्सिल कस्तो 'क्युट' भन्दै तारिफ गर्थे। अलिक धेरै बनाउन सल्लाह पनि दिन्थे।
'त्यो समय त मैले व्यवसाय भन्ने सोचेकै थिइनँ, रूचि मात्र थियो,' नेहाले भनिन्।
उनकी बहिनी रक्षाले पनि दिदीको सिको गरिन्।
कलेज पढ्न थालेपछि दिदीबहिनीले कुनै नयाँ काम गर्ने सोच बनाए। नेहा बिबिए र रक्षा फेसन डिजाइनिङ पढ्दै थिए। त्यही बेला उनीहरूले आफ्नै ब्रान्ड बनाएर काम गर्ने सोचे, नाम जुराए — हिसी क्रिएसन्स।
'नेपाल भाषाको शब्द हिसीले अति सुन्दर भन्ने अर्थ दिन्छ। अनि सिर्जनशील काम गर्ने भएकाले अंग्रेजी शब्द क्रिएसन्स जोडेका हौं,' उनले बताइन्।
रक्षाले कलेजको गृहकार्यका लागि लुगा सिउने सानो मेसिन किनेकी थिइन्। विभिन्न लुगाको डिजाइन बनाउँदा कपडाका खेर जाने टुक्रा धेरै निस्किन्थे।
उनीहरूले खेर जाने त्यस्ता टुक्राबाट केही न केही सामान बनाउने उपाय सोचे। अन्ततः रक्षाले विभिन्न रङका कपडाका टुक्रा मिलाएर कपाल बाँध्ने रबर (स्क्रन्ची) बनाउन सकिने बताइन्।
स्क्रन्ची बनाएर उनीहरूले बजार पठाए।
'ग्राहकले निकै रूचाए। बजारबाट माग आयो, हामीले उत्पादन बढायौं,' रक्षाले भनिन्।
त्यसपछि उनीहरूले विभिन्न रङका सिल्क कपडा किने। पहिलोपटक हिसी क्रिएसन्सका लागि दिदीबहिनीले सात हजार रूपैयाँ लगानी गरे।
त्यही कपडाबाट झिलिमिली र आकर्षक ५० भन्दा बढी रङका स्क्रन्ची बनाए। एउटाको ८० रूपैयाँ मूल्य तोकेर सामाजिक सञ्जालमा विज्ञापन गरे।
त्यसको व्यापार सोचेभन्दा निकै राम्रो भयो।
'कोरोना लकडाउनको समयमा स्क्रन्चीको माग यसरी आयो कि हामीले बनाउनै भ्याएनौं। परिवारका सबै मिलेर काम गर्यौं,' रक्षाले भनिन्, 'डराउँदै सात हजार रूपैयाँको कपडा किनेका थियौं। त्यसैले हामीलाई अघि बढायो।'
बिस्तारै अरूले पनि स्क्रन्ची बनाउन थाले। बजारमा प्रतिस्पर्धा बढ्यो। लकडाउन खुलेपछि स्क्रन्चीको बजार पनि सुक्यो। अहिले हिसीका नियमित ग्राहकले स्क्रन्ची अर्डर गर्छन्।
त्यसपछि रक्षाले नयाँ उत्पादनको योजना बनाइन्।
'म फेसन डिजाइनको विद्यार्थी भएकाले डिजाइन र उत्पादनमा रमाउन थालिसकेकी थिएँ,' उनले भनिन्, 'बजारमा जुन सामानको माग छ, त्यसैअनुसार काम गर्ने सोच्यौं।'
उनका अनुसार त्यस बेला बजारमा टोट ब्यागको प्रयोग बढेको थियो। दिदीबहिनी यसको फेब्रिक (कपडा) खोज्न बजार घुमे। युट्युब भिडिओ हेरे। अनि रक्षाले टोट ब्याग तयार गरिन्।
यो तीन वर्षअघिको कुरा हो। त्यो बेला १२ वटा टोट ब्याग बनाएर सामाजिक सञ्जालमा फोटा राखे, तुरून्तै अर्डर आयो।
रक्षाले भनिन्, 'हामीले ब्याग सिएर तयार हुँदासम्मको भिडिओ राखेका थियौं। सुरूमै धेरैले मन पराइदिनुभयो। अर्डर आउन थालिहाल्यो।'
कतिपय ग्राहकले आफ्नो डिजाइन दिन थाले। दिदीबहिनीले त्यसैअनुसार ब्याग बनाइदिए।
तर बिस्तारै टोट ब्यागको पनि बजार घट्यो, अर्को डिजाइन चल्न थाल्यो। बजारअनुसार रक्षा नयाँ डिजाइनतिर लागिन्।
यतिन्जेलमा दिदी नेहाको बिहे भयो। नेहा अहिले गरगहना व्यवसायमा लागेकी छन्।
हिसी क्रिएसन्सको डिजाइन, उत्पादन र व्यवस्थापन लगायत सबै काम रक्षाकै थाप्लोमा आयो। बुबाआमा र भाइको केही सहयोग पाउँछिन्।
'खासमा हिसी क्रिएसन्स दिदीले सुरू गर्नुभएको हो। मैले विस्तार गरेकी हुँ। अहिले पनि नयाँ डिजाइन र उत्पादनमा दिदीबहिनी सल्लाह गर्छौं। दिदीको पनि साथ छ,' रक्षाले भनिन्।
नेहाको बिहेपछि रक्षाले ब्यागको डिजाइन आफै गर्ने र सिउन अर्को कम्पनीलाई दिने योजना बनाइन्। धेरैतिर धाइन्। कतै परिमाणमा कुरा नमिल्ने त कतै केमा। अन्ततः एक ठाउँमा कुरा मिल्यो। यसपछि रक्षालाई सहज भयो।
अहिले पनि रक्षाको डिजाइनका ब्याग एउटा उद्योगले सिउँछ। बजारको काम उनी आफैले सम्हालेकी छन्।
'डिजाइन थप्दै, उत्पादन बढाउँदै लगेको छु,' उनले भनिन्।
हिसी क्रिएसन्सले हाल महिला र पुरूष दुवैका लागि आधा दर्जन बढी डिजाइनका ब्याग बनाउँछ। मूल्य आठ सयदेखि दुई हजार रूपैयाँसम्म छ।
'सबै ब्यागका छुट्टछुट्टै विशेषता छन्,' रक्षाले भनिन्, 'कुनै जिम जाँदा बोक्ने त कुनै यात्रामा बोक्ने खालका छन्। अफिसियल ब्याग पनि छ।'
उनका अनुसार सबै ब्याग बोक्न सजिला, बलिया र पानी नछिर्ने खालका छन्।
हिसी क्रिएसन्समा की-रिङ पनि बन्छ। की रिङको अर्डर निकै ठूलो संख्यामा आउने गरेको उनको भनाइ छ।
'मैले हिसी क्रिएसन्सको भविष्य निकै उज्ज्वल देखेकी छु। उत्पादन बढाउँदै भविष्यमा आफ्नै उद्योग खोल्ने सोच छ,' रक्षाले भनिन्।
(हिसी क्रिएसन्सको इन्स्टाग्राम पेजमा जान यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)