राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिष झाले रवि लामिछानेलाई पक्राउ गर्न सफल भएकामा कांग्रेस महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्।
शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै झाले कांग्रेस महामन्त्री थापालाई धन्यवाद भनेका हुन्।
'कांग्रेसका महामन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु। गगन थापा तिमी पनि नांगियौ,' झाले भने, 'किनकी यो देशका नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे एउटा नयाँ दल, केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्न चाहनेहरू आउँदै गर्दा उनी आत्तिए र ओलीको संगतमा मात्तिए।'
झाले रवि लामिछाने पक्राउ राजनीतिक प्रतिसोध र कुण्ठा मात्रै रहेको समेत बताए। सरकारको उद्देश्य सहकारी समस्या समाधान गर्ने पनि नरहेको उनले बताए।
सहकारी समस्या समाधान गर्ने हो भने प्रतिवेदनले भनेको ४० वटा सहकारीको ८७ अर्बको कुरा हुनुपर्ने झाले बताए।
'६५ करोड ५४ लाख गोर्खा मिडियामा ल्याएको छ। रवि दाइको कार्यकाललाई आधार मान्दा उहाँको कार्यकालमा उहाँको भागमा पर्ने जम्मा तीन करोड हो। उनीहरू ३ करोडमा अड्किएका छन्,' झाले भने।
उनले सहकारी पीडितहरूलाई पनि वर्तमान सरकारले सहकारी समस्या समाधान गर्छ भनेर विश्वस्त नरहन आग्रह गरे।
'यिनीहरूको उद्देश्य सहकारी समस्या समाधान गर्ने भएको भए ८७ अर्बको चर्चा गर्थ्यो। यिनीहरू केबल रवि लामिछानेको चर्चा गर्छन्। किनकी यो राजनीतिक प्रतिशोध हो, कुण्ठा हो। कसैको राजनीतिक भविष्य सुरक्षित गर्ने मनोदशाले ग्रसित नेता केपी शर्मा ओलीको लागि भइरहेको कुण्ठा र प्रतिशोधको राजनीति हो,' उनले भने।