राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा पार्टी कार्यकर्ता र सहकारी पीडितले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएका छन्।
आफ्ना सभापतिमाथि सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाका नेता कार्यकर्ताहरू प्रदर्शनमा उत्रने तयारीमा छन् भने रास्वपाको प्रदर्शनले लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस् भनेर खबरदारी गर्न पीडितहरू पनि छुट्टै प्रदर्शन गर्ने तयारीमा छन्।
रास्वपा गण्डकीका सचिव एकराज न्यौपानेले कार्यकर्ताहरूलाई पोखराको जिरो किलोमिटरमा भेला हुन भनिएको र त्यहाँबाट चिप्लेढुङ्गा मानवअधिकार चोकमा कोण सभा गरिने बताए।
‘हाम्रो सभापतिमाथि प्रतिशोध साँध्न पक्राउ गरिएको हो, यसैका विरूद्ध हामीले आज विरोध सभा आयोजना गरेका छौं,’ उनले सेतोपाटीसँग भने, ‘अनुसन्धानमा हाम्रो सहयोग रहन्छ, तर प्रतिशोध साँध्न पाइदैन।’
रास्वपाको विरोध सभामा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्याल, प्रवक्ता मनिष झा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
यता सुर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले आफूहरु पनि प्रदर्शनको तयारीमा जुटेको बताए। पोखराकै गैह्रापाटनमा वा सहकारीको कार्यालय भवन अगाडि प्रदर्शन गर्न लागिएको उनले बताए।
‘रवि लामिछाने दोषी हुन् कि निर्दोष अब अदालतले भन्ने हो, सडक आन्दोलन गरेर अनुसन्धान प्रभावित गर्न पाइँदैन,’ उनले भने, ‘हाम्रो प्रदर्शन रविमाथि अनुसन्धान प्रभावित नहोस् भनेर खबरदारी गर्न मात्र हो।’
सहकारी पीडितका पक्षमा रहेका गैरपीडित पनि आफ्नो आन्दोलनमा सहभागी भएर ऐक्यवद्धता जनाउने उनले बताए। रास्वपाले प्रदर्शन स्थगित गरेमा आफूहरुले पनि कुनै प्रदर्शन नगर्ने उनले बताए।
सहकारी पीडित र रास्वपा कार्यकर्ताले प्रदर्शन आयोजना गरेपछि दुवै पक्षसँग कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले छुट्टाछुट्टै छलफल गरेका छन्। अदालती प्रक्रियामा गइसकेको मुद्धामा सहयोग गर्न उनले दुवै पक्षलाई अपिल गरेका छन्।
‘आफ्ना आफ्ना कार्यक्रम शान्तिपूर्ण ढंगले गर्ने, उच्छृंखल गतिविधि नगर्ने, शान्ति सुरक्षा खलल पार्ने काम नगर्नू भनेर दुवै पक्षलाई भनेका छौं,’ सिडिओ पाण्डेले भने, ‘दुवै पक्ष सहमत भएर जानुभएको छ।’
आन्दोलन भन्दा पनि अनुसन्धान र अदालती प्रक्रियामा सहयोग गर्न आग्रह गरेको पनि उनले बताए।
‘हामीले अदालती प्रक्रियामा सहयोग गर्न भन्यौं, उहाँहरु सहमत हुनुभएको छ,’ पाण्डेले सेतोपाटीलाई भने।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले राखेको बचत रकम गैरकानुनी रुपमा गोर्खा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा लगेको भन्दै उजुरी परेको ८ महिनापछि लामिछाने शुक्रबार पक्राउ परेका थिए। उनलाई शनिबार बिहान पौने ३ बजे स्थलार्थ बाट पोखरा ल्याइएको थियो।
सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय जनाले बचत गर्न राखेको १ अर्ब ३५ करोड ५३ लाख रुपैया अपचलन गरेको मुद्धा अहिले अदालतमा विचाराधीन छ। उक्त अपचलनका मुख्य योजनाकार मानिएका जिबी राई फरार छन्।
लामिछाने सेयर सदस्य एवं प्रमुख कार्यकारी अधिकृत रहेका बेला सुर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रुपैया गैरकानुनी रुपमा टेलिभिजनमा लगानी गरेको संसदीय छानविन समितिले निष्कर्ष निकालेको थियो। उक्त रकम टेलिभिजनका तत्कालीन प्रमुख कार्यकारी अधिकृत लामिछानेमार्फत खर्च भएको पनि प्रतिवेदनमा उल्लेख छ।