सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी र संगठित अपराधमा अनुसन्धान गर्न रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
कास्की जिल्ला अदालतले शुक्रबार उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
पक्राउ पुर्जी जारी हुनेहरूमा सूर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा रकम लगेका विभिन्न कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने गोरखा मिडिया प्रालिद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत एवं सञ्चालक रहँदा सहकारीबाट गैरकानुनी रूपमा रकम लगेको र उक्त रकम अपचलनमा दोषी देखिएकाले अनुसन्धान गर्न अदालतसँग पक्राउ अनुमति लिएको प्रहरीले जनाएको छ।
पक्राउ पुर्जी जारी भएका अन्य व्यक्तिहरू पनि उक्त सहकारीबाट गैरकानुनी रूपमा कम्पनीमा रकम लगेका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।
पक्राउ पुर्जी जारी हुनेहरूमा विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ रहेका छन्।
उनीहरू सबै सूर्यदर्शन सहकारीबाट विभिन्न कम्पनीमा रकम लगेर अपचलनमा सहभागी देखिएकाले अनुसन्धान गर्न पक्राउ अनुमति लिएको कास्की प्रहरी प्रवक्ता बसन्त शर्माले जानकारी दिए।
अदालतबाट पक्राउ अनुमति पाएसँगै लामिछानेलाई पक्राउ गरी पठाइदिन नेपाल प्रहरी केन्द्रीय कार्यालयलाई कास्की प्रहरीले पत्राचार गरिसकेको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले गत माघ २२ गते नै कास्की प्रहरीमा लामिछानेसहित विभिन्न १८ वटा कम्पनीविरूद्ध पुरक जाहेरी दिएका थिए। जाहेरी दिएको ८ महिनापछि मात्र प्रहरीले उनीहरूविरूद्ध अनुसन्धान गर्न सक्रियता बढाएको हो।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले जनाएको छ।
यसरी बचत अपचलन गर्दा सहकारीले कानुन विपरीत गैरसदस्यलाई ऋण दिएको, कम्पनीमा लगानी गरेको लगायत निष्कर्ष निकालेको छ।
सहकारीको बचत अपचलन मुद्दामा शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्व उपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन्।
सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास लगायत अझै फरार छन्।
यी पनि: आर्थिक अधिकार थिएन भनेर बयानमा रवि लामिछानेले ढाँट्नुभयो: सभापति थापा (भिडिओ)
संसदीय छानबिन समितिले रवि लामिछानेलाई सोधेका ५१ प्रश्न र जबाफ (पूर्णपाठ)
रवि लामिछानेविरूद्ध सहकारी अपचलन अभियोगमा कहिले हुन्छ मुद्दा दर्ता?
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको ११२४ पृष्ठको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)