इसराइलले प्यालेस्टाइन र लेबनान नागरिकहरूमाथि गरेको हिंसात्मक आक्रमणको माओवादी केन्द्रसहितका राजनीतिक दलका नेता तथा नागरिक अगुवाहरूले विरोध गरेका छन्।
माओवादी केन्द्रका महासचिव देव गुरूङ, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, बृहत् नागरिक आन्दोलनका सञ्जिव उप्रेती लगायत १५ जनाले विरोध जनाउँदै बुधबार विज्ञप्ति सार्वजनिक गरेका हुन्।
उनीहरूको विज्ञप्तिमा भनिएको छ, 'इसराइलको आक्रमणबाट गत एक वर्षमा गजामा मारिएका बालबालिका र महिलाको संख्या त्यति नै हुन्छ, जति गएको बीस वर्षमा विश्वभरिको युद्धमा मारिएका बालबालिका र महिलाको संख्या हुन्छ। यो घटनालाई एक्काइसौं शताब्दीकै सबैभन्दा ठूलो जातीय नरसंहार एवं जातीय सफाया भन्न सकिन्छ। हामी यस राज्य नियोजित हिंसाको घोर निन्दा एवं भर्त्सना गर्दछौं।'
गत वर्ष ७ अक्टोबरयता इसरायली आक्रमणबाट ६९ प्रतिशत महिला र केटाकेटीसहित ४२ हजार निर्दोष प्यालेस्टिनीले सर्वसाधारण मारिएको, गजा क्षेत्रबाट मात्र १९ लाख प्यालेस्टिनी अर्थात् त्यस क्षेत्रको ८५ प्रतिशत जनसंख्यालाई आफ्नो घर र बासस्थान छोडेर विस्थापित हुन बाध्य तुल्याइएको तथ्यांक विज्ञप्तिमा उल्लेख छ।
'प्यालेस्टिनी तथा लेबनानी जनताको भूअखण्डता र सार्वभौम अधिकारको सम्मान गर्दै र उनीहरूको न्यायपूर्ण आवाजप्रति गहिरो ऐक्यबद्धता जनाउँदै हामी इसराइलले गरेको क्रुर र बर्बर युद्ध तुरून्त बन्द गर्न माग गर्दछौं। इसराइलको यो बर्बरतापूर्ण हिंसाको विरूद्ध प्यालेस्टिनी तथा लेबनानी जनताका पक्षमा देशको मत अभिव्यक्त गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,' उक्त विज्ञप्तिमा भनिएको छ।
उनीहरूले बिपीन जोशीलाई पनि यसै विज्ञप्तिमार्फत् नेपाल फर्काउन लागि कूटनीतिक र राजनीतिक सम्बन्धका सबै उपाय अपनाउन समेत नेपाल सरकारलाई आग्रह गरेका छन्।
आफ्नो जीवनमाथि खेलवाड हुनेगरी मृत्युको धराप जस्तो भएको इसराइल, गजा र लेबनानमा नेपालीलाई नागरिकलाई नजान समेत भनेका छन्।