खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के अनुगमन गरेका छन्।
नेपाल सरकारले प्रदान गरेको दसैं बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन भइसक्दा समेत विभिन्न कार्यालयहरूमा कर्मचारीहरू उपस्थित नहुने गरेको गुनासो आउन थालेपछि मन्त्री यादवले आज मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेका हुन्।
उक्त अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुई जना गरी १३ जना बिनासूचना अर्थात् जानकारी बिना गैरहाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए।
उनले भने, ‘मन्त्रीज्यूले आज आकस्मिक छड्के जाँच गर्नु भएको थियो, सो क्रममा मन्त्रालय र विभागमा गरी १३ जना गैरहाजिर भएका भेटिनु भएको छ। गैरहाजिर हुनुको कारण बुझ्नुपर्ने हुन्छ।’
यसैगरी, मन्त्री यादवले छड्के जाँचका क्रममा मन्त्रालयमा तथा विभागमा हाजिरी अवस्थामा भेटिएका कर्मचारीहरूलाई काम गर्दा हुने गरेका समस्याका विषयमा जानकारी समेत लिएका थिए।
उक्त छड्के अनुगमनका क्रममा मन्त्री यादवले काम गर्दाको समय होस् वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउन समेत कर्मचारीहरूलाई आग्रह गरेका थिए।