लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समयअनुकूल आफूलाई परिमार्जन हुन प्रहरी संगठनलाई आग्रह गरेका छन्।
समाजमा देखिएको बढ्दो अपराध नियन्त्रणका लागि प्रहरी संगठनलाई पनि आधुनिकीकरण गर्न जरूरी रहेको उनले बताए।
६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रविधिको प्रयोगबाट हुने अपराध न्यूनीकरणका लागि प्रहरी संगठनलाई पनि प्रविधियुक्त र आधुनिकीकरण गर्न जरूरी रहेको बताए।
‘समाजमा जसरी आपराधिक गतिविधिका चुनौतीहरू थपिएका छन् ती चुनौतीलाई सामना गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी संगठनलाई पनि समयानुकूल परिमार्जन गर्न आवश्यक छ,’ मुख्यमन्त्री आचार्यले भने।
मुख्यमन्त्री आचार्यले अपराध न्यूनीकरण गरी मुलुकमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै बदलिँदो परिवेश अनुसार समाजमा हुने अपराध न्यूनीकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्न जरूरी रहेको बताए।
उनले अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उँचो बनेको भन्दै सिंगो प्रदेश प्रहरी संगठनलाई धन्यवाद दिए।
देशभरका अन्य प्रदेशमध्ये शान्ति सुरक्षा कायम गर्नेमा मुलुकमै उत्कृष्ट बनेको भन्दै प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले लुम्बिनी प्रदेशलाई पुरस्कृत गरेको छ।
त्यस्तै, देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमध्ये जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालयमध्ये ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके उत्कृष्ट घोषित भएको छ।
उत्कृष्ट हुने प्रदेश, जिल्ला र ईलाका तिनवटै प्रहरी कार्यालय लुम्बिनी प्रदेशका रहेको भन्दै मुख्यमन्त्री आचार्यले प्रदेश प्रहरी संगठनप्रति आभार व्यक्त गरे।
‘प्रदेश मात्र नभएर जिल्ला र इलाका प्रहरी कार्यालय पनि लुम्बिनी प्रदेशबाटै उत्कृष्ट बन्न सफल भएर प्रदेशको शिर उँचो बनाउन यहाँहरुले गरेको योगदानको उच्च कदर गर्न चाहन्छु’ उनले भने।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ती सुरक्षा, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन लगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको उल्लेख गर्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधिसँग जोड्न जरूरी रहेको बताए।
उनले प्रविधिको प्रयोगबाट अपराधको प्रकृति फेरिँदा प्रहरीमाथि चुनौती थपिएको उल्लेख गर्दै प्रहरी पनि प्रविधियुक्त बन्नुपर्ने बताए।
सो अवसरमा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी नायब उपरीक्षक पुष्पराज मल्ल, प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे, प्रहरी सहायक निरीक्षक यशोदा विक र प्रहरी जवान विक्रम दर्लामीलाई सम्मान गरिएको थियो। साथै, प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कृत गरिएको थियो।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले स्वागत तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक हिमालयकुमार श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए।