नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ।
मंगलबार कपिलवस्तुको शिवगढीमा रहेका विप्लवको निजी निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। सोमबार दाङ गएका शर्मा फर्किने काठमाडौं फर्किने क्रममा विप्लवलाई भेट्न उनको निवास पुगेका थिए।
भेटघाटमा पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी शक्तिलाई बलियो बनाउने विषयमा कुराकानी भएको उपमहासचिव शर्माले सेतोपाटीलाई जानकारी दिए।
‘फोनमा कुरा भइहरेको थियो। एक पटक भेटौं न त भनेर आज भेटियो,’ शर्माले भने, ‘पार्टी निर्माण कसरी गर्ने, एकताको कुरा कसरी गर्ने देशको अहिलेको राजनीतिक अवस्था के छ, वामपन्थी र लोकतान्त्रिक आन्दोलनलाई कसरी लैजाने, संविधानको रक्षा कसरी गर्ने भन्नेबारे राजनीतिक विमर्श गरियो।’
अब एक्ला एक्लै हिँडेर राजनीतिक निकास ननिस्किने निष्कर्षमा आफूहरू पुगेको शर्माले बताए। उनले नेतृत्वको कमजोरीबाट पाठ सिक्नुपर्नेबारेमा पनि छलफल गरेको बताए।
‘अब अलग-अलग बसेर पनि हुँदैन, साँघुरो सोँचबाट पनि हुँदैन, नयाँ ढंगले सोचौं भन्नेबारेमा कुराकानी गरियो,’ शर्माले भने, ‘हाम्रा लिडरहरूको कमजोरीबाट हामीले सिकौं। त्यहाँबाट सिकेमात्रै अगाडि बढ्न सकिन्छ नत्र सकिन्न। उहाँहरूले यहाँसम्म ल्याउनुभयो राम्रो गर्नुभयो अब कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल भयो।’
नेकपा माओवादी केन्द्र र नेकपा अहिले समाजवादी मोर्चामा आवद्ध छन्। माओवादीले पुराना माओवादी घटकहरूबीच एकता गर्न पहल गर्ने निर्णय यसअघि नै गरेको थियो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लवबीच यसबारेमा लगातार छलफल पनि भएको थियो। विप्लवलाई पार्टी महासचिव बनाएर माओवादी केन्द्रमा ल्याउने तयारी भएको भन्दै उपमहासचिवहरू शर्मा र वर्षमान पुनले विरोध जनाएका थिए।
उनीहरूले पार्टी छोडेर गएकाहरूलाई ठूलो-ठूलो जिम्मेवारी दिएर भित्र्याउन नहुने मत राख्दै आएका थिए। मंगलबार भने शर्मा र विप्लवबीच पार्टी एकता गरेर अघि बढ्नुपर्ने भन्नेबारेमा नै छलफल भएको हो।
शर्माले पार्टी नेतृत्वलाई चुनौती दिंदै पार्टी निर्माणका लागि दोस्रो पुस्ताले पहल लिनुपर्ने बताइरहेका बेला उनीहरूबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।