लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले अनावश्यक चेकजाँचको झन्झटका कारण बाह्य पर्यटकहरू लुम्बिनी भित्रिन नसकेको बताएका छन्।
उनले प्रदेशमा आउने विदेशी पर्यटकहरूलाई अनावश्यक चेकजाँच गरेर सास्ती दिने काम भइरहेको भन्दै यो सास्ती अन्त्यका लागि मन्त्रालयले पहल गरिरहेको बताए।
मूलतः यो प्रदेशमा बाह्य पर्यटकहरू भारतबाट बढी आउने गरेका छन्। तर उनीहरूलाई प्रहरीद्वारा अनावश्यक चेकजाँच गरेर सास्ती दिने काम भैरहेको मन्त्री न्यौपानेको भनाइ छ।
‘एक पटक प्रदेशमा आएका भारतीय पर्यटकहरू अर्को पटक फर्केर आउन नसक्ने स्थिति छ,’ घोराहीस्थित आयोजित एक कार्यक्रममा मन्त्री न्यौपानेले भने, ‘प्रहरीले अनावश्यक चेकजाँच गरेर सास्ती दिएको गुनासो बढी छ, यही सास्तीका कारण अर्को पटक दोहोरिएर पर्यटक आउन मन नगर्ने परिस्थिति सिर्जना भएको छ।’
पर्यटकहरूको आगमन बढाउन पर्यटकहरूलाई सहज वातावरण निर्माण गर्नुपर्नेमा झनै सास्ती दिने काम भैरहेको उनको भनाइ छ।
भारतबाट नेपाल प्रवेश गरिसकेपछि एक ठाउँमा मात्रै चेकजाँच गरे पुग्ने भएकाले प्रदेश सरकारले एक पटक चेकजाँच गरिने र उनीहरूलाई जाँच गरिएको पास उपलब्ध गराउने व्यवस्था गर्न थालेको जानकारी दिए।
‘भारतबाट गाडी लिएर लुम्बिनी प्रदेशमा घुम्न आउने पर्यटकहरूलाई एक ठाउँमा मात्रै चेकजाँच गर्ने र उनीहरूलाई चेकजाँच गरेको पास उपलब्ध गराइनु पर्छ भनेर मन्त्रालयले त्यसको तयारी गरिरहेको छ,’ मन्त्री न्यौपानेले भने, ‘ठाउँ ठाउँमा चेकजाँच गरेर पर्यटकलाई सास्ती दिने काम अब बन्द गरिने छ।’
प्रदेशको समृद्धिको बलियो आधार भनेकै पर्यटकीय क्षेत्र रहेको तर पर्यटकहरूलाई सहज रूपमा आउने वातावरण निर्माण नहुँदा प्रदेशको आर्थिक समृद्धिको लक्ष्य पूरा हुन नसक्ने मन्त्री न्यौपानेको भनाइ छ।
‘एउटै पर्यटकलाई १०/१२ ठाउँमा चेकजाँच गरेर सास्ती दिने काम भैरहेको छ,’ मन्त्री न्यौपानले भने, ‘यस्तो सास्ती बेहोर्नु पर्ने ठाउँमा कुन पर्यटक आउन मन गर्छ? यसरी प्रदेशको आर्थिक समृद्धिको लक्ष्य पूरा कदापी हुन सक्दैन।’