सत्तारूढ दल नेकपा एमालेले प्राकृतिक विपदबाट घरवास गुमाएका १० हजार परिवारलाई छिटोभन्दा छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले विपदबाट प्रभावित परिवारलाई छिटोभन्दा छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले आफ्नो क्षमताले भ्याएसम्म विपद् प्रभावितहरूको उद्धार गरेको बताए।
उनले प्राकृतिक प्रकोप र सरकारको क्षमताको ग्यापले केही असहज परिस्थिति सिर्जना भएको बताए।
उनले सरकारले विभिन्न माध्यमबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको र आम नागरिकहरूमा सजगताको कमी देखिएको बताए।
उनले भने, ‘सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म गरेको छ। प्राकृतिक प्रकोप र सरकारको भोलुमको बीचमा ग्याप त हुँदो नै रहेछ। हालै मात्र अमेरिकाको फ्लोरिडामा आँधीबाट आक्रान्त छ। सुविधा सम्पन्न देशमा पनि केही कमजोरी छन्। तर हामीले सरकारले इमानदारीपूर्वक काम गरेको छ कि छैन भनेर हेर्दा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारीहरू सबै खट्नुभएको छ। तर मौसम विज्ञहरूले मुसलधारे वर्षा हुने अनुमान गर्नुभएको थियो। त्यसलाई मध्यनजर गरेर सरकारले सूचना पनि सतर्क रहन दिएको हो। कति कुरामा नागरिकहरूको सजगतामा कमी पनि भयो। सरकार अझ बढी प्रभावकारी बनोस्। १० हजार परिवारले घरबास गुमाउनुभएको छ। उहाँहरूलाई छिटोभन्दा छिटो पुनर्वासको जरूरी छ। त्यसपछि पुनःनिर्माणको काम आउँछ।’
उनले सरकारले अझ बढी सक्रिय भई विपद् प्रभावितहरूको पुनर्वास र पुनर्निर्माणका लागि प्रभाकारी ढंगले काम गर्नुपर्ने बताए। — न्युज एजेन्सी नेपाल