अबका निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताउँदै आएको नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा गठबन्धनको ढोका खोलेको छ।
सोमबार मातहतका निकायलाई परिपत्र पठाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरूङले यस्तो उल्लेख गरेका हुन्।
‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रूपमा चुनाव लड्ने तयारी गर्ने,’ परिपत्रको पहिलो बुँदामै भनिएको छ, ‘यसका साथै सत्तारूढ दल बाहेकका बाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने।’
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि नै एक्लै निर्वाचन लड्ने बताइसकेका छन्।
अहिले प्रतिपक्षमा रहेका दलहरूमध्ये नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माओवादी निकट देखिन्छ।
रास्वपाले स्थानीय तहको चुनावमा जाने बताइरहेका बेला माओवादीको पनि यो परिपत्र आएको हो।
यस्तै माओवादी नेतृत्वले परिपत्रमा उम्मेदवार चयनको प्रक्रिया पनि तोकेको छ।
‘उप–निर्वाचनको तयारीका लागि रिक्त रहेका वडा अध्यक्षको उम्मेदवार छनोट गर्दा वडा पार्टीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा उम्मेदवार छनोट गर्ने,’ माओवादी केन्द्रले भनेको छ, ‘यदि सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिस गर्ने र पालिकाको पार्टी समितिले निर्णय गर्ने।’
माओवादी केन्द्रले कात्तिक २५ गतेसम्म उम्मेदवार चयन गरिसक्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ।
यही मंसिर १६ गते रिक्त स्थानीय तहमा निर्वाचन हुँदैछ। स्थानीय तहका विभिन्न ३९ पदमा उपनिर्वाचन हुन लागेको हो।