खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घर-घरमा गएर अनुरोध गर्ने बताएका छन्।
केही दिनअघि बाढीका कारण ललितपुरमा पानीको आपूर्ति बन्द हुँदा दक्षिकालीका जनताका घर घर पुगेर बिन्ति बिसाएपछि ललितपुरमा पानी आएको बताउँदै मन्त्री यादवले मेलम्चीमा पनि घरघरमा गएर अनुरोध गर्ने बताएका हुन्।
मेलम्चीवासी असोजदेखि आन्दोलित छन्। मन्त्री यादवले उनीहरूका विशेषगरी चारवटा माग रहको बताएका छन्।
'बाढी पहिरोको क्षति,स्थानीय गाउँपालिकाको भवन बनाउनु पर्ने,सिएमसी ठेकदारले स्थानीय व्यापारीको पैसा भागेकाले पैसा दिनुपर्ने र सडक बनाउनुपर्ने माग छ,' उनले भने।
मेलम्चीवासी र सरकारबीच वार्ता भइरहेको र त्यसले सकारात्मक परिणाम दिने पनि मन्त्री यादवले विश्वास व्यक्त गरे।
'मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिनुहुन्छ भन्ने आशा छ। अहिले आन्दोलन गर्ने बेला होइन एक अर्कालाई सहयोग गर्ने बेला हो। सरकारलाई सहयोग गर्न अनुरोध गरेको छु। वार्ताबाट सहज रुपमा पानी खोल्ने विषयमा सहमति भयो भने भयो नभए मेलम्चीका स्थानीयहरको घरमा नै जान्छु,’ उनले भने।
बाढी पहिरोका कारण खानेपानीमा मात्रै साढे ३ अर्ब बराबरको क्षति पुगेको मन्त्री यादवले बताए। त्यसमा सबैभन्दा बढी क्षति काठमाडौंमा पुगेको उनले बताए।
'महाकाल चौउरमा भएका मेसिनरी वस्तुहरुसबै क्षति भएको अवस्था थियो। कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको अवस्था छ। नख्खुको सबै पम्प हाउस सबै बगाएको थियो। पनौतीमा खानेपानीका दुई किलोमिटर पाइप बगाएको छ। महोतरीमा पनि क्षति भएको छ। पहाडी जिल्लामा पनि क्षति भएको छ,' उनले भने।
क्षति पुगेका सबै ठाउँमा अहिलेकै संरचनाले काम गर्न सक्ने अवस्था नरहेको बताए।
'विपद् व्यवस्थापनबाट काम गर्ने तयारी गरेका छौ। केही समयपछि क्षति भएका संरचनाहरु पुननिर्माण हुन्छन्। सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीले पनि धेरै मेसिन खरिद गरेको छ। मर्मत गरेर चल्ने मेसिनहरुलाई चलाउने प्रयास पनि गरिरहेका छौं,' उनले भने।