नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले वित्तीय आतंक रोक्न तथा मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएको छ।
शुक्रबार जिल्ला पार्टी सेक्रेटरी अमर खड्का नेतृत्वको टोलीले बुझाएको ज्ञापन पत्रमा बैंक तथा वित्तीय संस्थालाई एक अंक र स्थिर व्याजदरमा कायम गर्नुका साथै जनताको जग्गा-जमिन घरबास लिलाम नगर्न कडा प्रावधान राख्न पर्ने माग गरेका छन्।
चाड पर्वको महंगीले छाक बास जोगाउन नसक्ने गरी पिल्सिएका आम नागरिक राज्य खोजिरहेको भएपनि राज्य नभेटिएको कुरा ज्ञापनपत्रमा उल्लेख छ।
केही मान्छेको कब्जामा राज्य र राज्य संयन्त्रहरू रहेको भन्दै त्यो चिर्न राज्य लाग्न जरुरी रहेको सेक्रेटरी खड्काले बताए।
‘राज्य जनताको नभएको हुँदा जनताले पटक-पटक दुःख पाएको कुरा अहिलेको यथार्थ हो,’ अमरले भने, ‘अहिले हाम्रो पार्टी जनताको राज्य सत्ता बनाउन कै लागि निरन्तर संघर्षमा रहेको कुरा हो।’
उनले बुझाएको १३ बुँदे ज्ञापन पत्रमा राज्य दोहन गरिरहेका धमिराहरू, दलाल तस्कर, भ्रष्टाचार, कालोबजारी सुदखोर र आर्थिक आतंकविरूद्ध नेकपा बहुमतले जन-एकता अभियान संचालन गरिरहेको जस्ता कुरा उल्लेख छन्।